
मैले यस्तो कदम चाल्न खोज्दा मेरो बिरोध गरियको हो । ढुक्क हुनुस जनताले मलाइ गरेको बिस्वास टुट्न दिने छैन -रबि लामिछाने
मैले यस्तो कदम चाल्न खोज्दा मेरो बिरोध गरियको हो । ढुक्क हुनुस जनताले मलाइ गरेको बिस्वास टुट्न दिने छैन -रबि लामिछाने
रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले फैसला सुनाएपछि सामाजिक सन्जालमा उनको पक्ष/विपक्षमा प्रतिक्रियाहरु आउने क्रम जारी छ । उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदमा रहेका लामिछाने नागरिकताकै विषयमा पदबाट बाहिरिनुपर्यो । साथै सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष र संसदीय दलको नेताबाट पनि लामिछाने बाहिरिनुपर्यो ।
लामिछाने चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि लामिछानेले छोटो समयमा प्राप्त गरेको राजनीतिक उचाइमा धक्का लागेको छ । उनीमाथि नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद बन्न अयोग्य ठहर गर्दै सर्वोच्चले फैसला सुनाएको हो ।
हेरौं सामाजिक सन्जालमा कसले के भने-
सामाजिक सन्जालमा लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्यालले अदालतको फैसलापछि सबै शुभचिन्तकहरुलाई पार्टीका तर्फबाट संयम रहन अनुरोध गरेका छन् । उसो त शुक्रबार साँझै अर्याल पार्टीको कार्यवाहक सभापतिसँगै संसदीय दलको नेतासमेत बनेका छन् । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले शुक्रबार नै विज्ञप्ति जारी गर्दै अर्याललाई संसदीय दलको नेता र कार्यवाहक सभापति चयन गरिएको जनाएका थिए ।
डीपी अर्याल
हामी यो देशलाई समृद्धितिर लग्न र जनतालाई नेपाली हुँ भनेर गर्बको साथ भन्न सक्ने बनाउन मैदान मा उत्रेका हौं त्यो तपाईं हामीले नै गर्नुपर्नेछ । स्वदेश तथा विदेशमा रहनुहुने सबै सदस्य र शुभचिन्तकहरुलाई सम्यम भैदिन अनुरोध गर्दछौं ।
चन्द्रकिशोर
एक अनागरिक देशको गृहमन्त्री बन्छ, राष्ट्रिय सुरक्षा संवेदनशीलताका सबै विषयसँग अवगत हुन्छ र हामी आपसमा केवल पहाड-मधेसको कोणबाट विवेचना गर्नमा व्यस्त हुन्छौं ।
सबको सन्मति दें भगवान !
नेपाली क्रान्तिको इतिहासमा चितवनबासीको योगदान स्तूत्य छ । रवि लामिछाने जो अनागरिक नेपाली भाषी थिए तिनलाई मत दिएर जिताउने चितवन २ का मतदाता यतिखेर नैतिकताको कठघरामा उभिएका छन् । मतदान गर्दा निकै सुझबुझ र संयम न देखाए ,केवल बतासे तालमा भोट दिँदा यस्तै अप्रतिनिधित्वको अवस्था आइपुग्छ ।
रामेश कोइराला
बीसका बीस सांसद रविको छविले बनाएको जगका कारण चुनिएका हुन् । तर अब जग नै अनैतिक भइसकेपछि ती १९ ले के गर्लान् ? कमसेकम एकजनाले पनि ग्लानिबोध गरेर सांसद पदबाट राजीनामा देलान् त ? कि पदमा लिसो झैँ टाँसिइरहलान् ? कि दुई-चारदिन लुक्लान् ? के गर्लान् त ? हेर्दै गर्नूस्, जनतासँग सीधा कुरा !
रामेशले ट्विटरमा लेखेको यो स्टाटसमा ४० जनाले कमेन्ट गरेका छन् । ५७ जनाले रिट्विट गरेका छन् भने ४७९ जनाले रियाक्सन जनाएका छन् । रामेशको ट्विटमा विभिन्न व्यक्तिले कमेन्ट पनि गरेका छन् । जसमध्ये रामेशलाई डा. आनन्द गिरीले ‘नेपाली राजनीतिमा नैतिकता त दिउँसै टुकी बालेर खोज्नुपर्ला, रविको मात्र के कुरा गराइ भो र… ’ लेखेका छन् ।
गिरीको प्रतिक्रियास्वरुप रामेशले त्यो त हो तर सुशासन ल्याउने भनेर आएकासँग अलिक बढी खोज्ने कि ?
विशाल भण्डारी
न्यायालयको फौसला स्वीकार्छु भन्नु भनेको रवि लामिछानेको राजनीतिमा लामो छलाङ मार्ने लक्षण हो ।
बाटो खुल्लै छ।
आइतबार नागरिकता लिने
अनि फेरि निर्वाचनमा भिडेर जितेर आउने ।
नागरिकतामाथिको राम्रो नजिर बस्यो, त्यो राम्रो हो ।
मरासिनी सागर
रबि लामिछानेलले अझै पनि राजनीति गर्ने हो भने नेपाली जनतासग माफी मागेर गैरनागरिकका रुपमा साम्सद तथा गृहमन्त्रीका रुपमा लिएको सेवा सुबिधाका लागी भएको खर्च राज्यकोषमा दाखिला गर्नपर्छ । अनि नागरिकता पुन प्राप्तिको प्रक्रिया पूरा गर्नपर्छ । नत्र भने भ्रम नपालौं ! देशको कानुन नमान्ने अनि उल्टै अरुलाई गाली गर्ने र अर्ती उपदेश दिनेले केही लछारपाटो लाउँदैनन् ।
भीम उपाध्याय
सर्बोच्चमा कसैले रिट नहालेको भए त नेपाली नागरिक भईनसकेकाहरू पनि सांसद, मन्त्री वा उस्तै साईत परे प्रम पनि भइरहने रहेछन्। कसैले रिट हाल्यो, संविधान ऐन नियमको अन्तिम ब्याख्या भयो, अन्यौल विवाद हट्यो।
अब कानुनले तोकेको प्रकृयाबाट पुनः नागरिकता लिने र लयमा हिड्नुपर्ने भयो।
अदालतले बिदेशी नागरिक बनेका पूर्वनेपाली नागरिकहरूले विधिवत नेपालको नागरिकता पुनः लिनुपर्छ। नागरिकता नलिएसम्म सांसद, मन्त्री हुन राजनीतिक उम्मेदवार बन्न पाईदैन मात्र भनेको हो।
अब कस्तो कानुन नियम चाहिन्छ त्यो बनाउन लाग्नुपर्छ। नियमावलीको नियम ११ मा सामान्य एक वाक्य थपे चाहेको कानुन बन्न सक्छ ।
केशव साउद
भक्तहरु अरुलाई झोले भन्दै रे छ्न् । पीडा बुझ्छम् के गाइच ।
भगवान् फेरि अर्को झमेला खेप्दै छन् है ।
हरि रोका
एक ‘अमेरिकी नागरिकले’ नेपालको गृहमनन्त्री भएर हामी नेपालीमाथि एक महिना शासन गर्न भ्याए । यस्कालागि कोही कतइ जिम्मेवार हुन पर्ने वा नपर्ने? पासपोर्ट अड्डा, जस्तो निर्वाचन आयोग, सत्तारूढ राजनैतिक दलहरू, गरिमामय संसद आदि, इत्यादि ?
मोद ढकाल
रवि लामिछानेको स्थिति ‘The Terminal’ को Victor Navorski को जस्तै भो त ऐले आएर नहेरेकाले हेर्नू है यो सिनेमा गजब छ ।
कृष्ण कुसुम
रविले गृहमन्त्री बाट राजीनामा दिने हो कि प्रमले पदच्यूत गर्ने हो खासमा ? के भन्छन् कानुन जान्नेहरु ?
मधुरमण आचार्य
एक पटक रद्द भएको सिमकार्ड, एटीएम कार्ड, ड्राइभिङ लाइसेन्स वा जागिरको परिचयपत्र त नवीकरण वा पुनः जारी नगरी कतै चल्दैन !
नागरिकताको त झन् कुरै भएन !!
आचार्यको यो ट्विटमा पुरुषोत्तम मुडभरीले प्रतिक्रिया जनाएका छन् । उनी लेख्छन्-
नागरिकता रद्द भएको जानकारी रद्द भएको नागरिकता प्रमाणपत्रमा लेखिदिने व्यवस्था गर्न सकिँदैन नयाँ पासपोर्ट जारी गर्दा पुरानोमा लेखिदिए जस्तो ? त्यसो भएको भए रविले पुरानो नागरिकता प्रमाणपत्र प्रयोग गरेर उम्मेदवारी दिन सक्दैनथे। अब यसबारे सोच्छन् कि गृह मन्त्रालय वालाले ?
यस्तै आचार्यलाई प्रतिप्रश्न गर्दै मीनराज संग्रौला लेख्छन्- ‘नागरिकतामा एक्सपायर डेट हुन्छ ?’
अजयभद्र खनाल
रवि लामिछाने अनागरिक बनेका होइनन् । अमेरिकि नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारीलाई नदिएको र फेरि नागरिकता लिन तोकिएका प्रक्रिया पूरा नगरेका कारण उम्मेदवार बन्न योग्यता नपुगेको मात्र हो ।
हर्क साम्पाङ राई
बुद्धको नागरिकता थियो कि थिएन ? भक्ति थापा, कालु पाँडे, बलभद्र र अमर सिंहको नागरिकताचाहिँ कुन देशको थियो ? नागरिकताको प्रमाणपत्र मात्रैले देश बनाउँदैन है गोक्ते हो !
कस्ले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? He is Nepali Citizen.
मिलन पाण्डे
समाजका लहरहरू निकै अस्थायी हुने गरेका छन् । कुनै बेला ‘लालबाबु पण्डितलाई प्रधानमन्त्री बनाउने’ अभियान चल्यो । हामीले नै ‘धुर्मुस सुन्तली’लाई भगवान् बनायौँ ।
हामी कि त भगवान् खोज्छौँ कि सीधै दानव बनाउँछौँ ।
हामीले समाधान व्यक्तिलाई भगवान् बनाएर होइन, संस्थाहरू बलियो बनाएर खोज्नुपर्छ ।
पाण्डेको ट्विटमा आनन्दराम पौडेलले प्रतिक्रिया दिँदै लेख्नछन्-
त्यसबेला लालबाबु पण्डितका कर्म, आचरण र चरित्रको चर्चा भएथ्यो। उनलाइ प्रधानमन्त्री बनाउन कोही लागेको थियो भने पनि हामी अकिञ्चन जनतालाइ पटक्कै थाहा भएन । पछिल्लो महत्वाकांक्षी परियोजनाले धुर्मुससुन्तलीलाई किच्यो । नत्र भूईंमान्छेको लागि काम गरुञ्जेल उनको उच्च मूल्याङ्कन भएकै हो ।’
भीमबहादुर रावल
सर्वोच्च अदालतबाट रवि लामिछानेजीको नागरिकता र संसद् सदस्यता बदर भइसकेपछि उहाँले कुन कुन नागरिकता कसरी प्राप्त गर्नुभयो र त्यसमा कसकसको संलग्नता छ भन्नेबारे छानबिन भई कानुनबमोजिम हुनुपर्छ ।
प्रेम घर्तीमगर
रवि लामिछानेको नागरिकता विवादको फैसला एक महिनामा नै आउने ! तर ललिता निवास प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसला वर्षौं बित्दा पनि नआउने किन होला ?
प्रदीप भट्टराई
अनागिक रविलाई उपप्रधान तथा गृहमन्त्री बनाएर कलंकको टीका लगाइसकेका प्रचण्ड-केपी फेरि नागरिकता प्रक्रियामा लगेर त्यही पदमा बहाल गराउन लागेको सुन्नमा आको छ । यदि सत्य हो भने अनागरिकका मतियार तिमीहरू राष्ट्रद्रोहको भागिदार हौं ।
याद गर, अति भएपछि खति हुन्छ !
सुदर्शन घिमिरे
प्रतिस्पर्धामा भाग लिँदा पहिलो हुने मानिस कुनै कारणले अयोग्य घोषित भो भने स्वत दोस्रोलाई बिजेता घोषित गर्ने चलन छ ।
रविको सांसद पद खारेजीसँगै दोस्रो मत पाएका उमेश श्रेष्ठ सांसद घोषित हुनुपर्ने हो कि उपचुनाव ?
विधिशास्त्र र नजीरले के भन्छ ?
नयनराज पाण्डे
अति आत्मविश्वासले डुबाउँछ । कुरा लुकाएर राजनीति गरे ढिलोचाँडो हिलोवाला खाल्डोमा उत्तानो लडिन्छ अब ‘गाडिएका मुर्दा’ भकाभक उखेलिनेछन् र तिम्रा अप्ठ्यारा दिन चाँडै हट्ने छैनन् ।
शिरोमणि ढुंगाना
रवि लामिछानेको हकमा खासगरी कांग्रेस र एमालेका समर्थकहरुलाई विधीको अचम्मै विधीको शासनप्रतिको लगाव देखियो। तर उनीहरु आफ्ना दलका नेताहरुको हकमा फरक मान्यता राख्छन्।
लीलामणि पौड्याल
रवि लामिछानेलाई अदालतको फैसलाले अनागरिक बनाएको हो कि उनले निर्वाचनमा प्रयोग गरेको नागरिकता रद्द भैसकेकोले चाहिने भए नागरकता लिने प्रकृयामा जाउँ भनेको हो ? बहस त अनागरिक भए भन्ने जस्तो छ । उनले पनि मिडियामा त्यही भने भन्ने छापिएको छ। confused !
पवन आचार्
सही समय आउन पनि आखिर समय नै लाग्दो रहेछ, जिन्दगीमा
माधव चौलागाईं
रवि प्रकरण : बास्तवमा मन जितेकै हुन् । चुनाव जितेकै हुन् । अहिले मु्द्दा हारे।
विचारः यो अब बाँकी दलहरुको लागि झन् कठिन समयको सुरुवात हो ।
उनलाई नागरिकता दिनै पर्छ। उनी फेरी उठ्छन् । अझ बलियो भएर आउँछन्
किनकि, बाजेका उही पुराना दल-दलहरु सुध्रिने बन्ने छाँटकाँट त थोपै देखिन्न ।
हिमा विष्ट
गैर नेपाली नागरिकलाई #गृहमन्त्री जस्तो पद र देशको सुरक्षा निकाय हस्तान्तरण गर्ने प्र.म. र प्रतिपक्षी नभएको सरकार के भन्छ नि? मुद्दा त कस-कसलाई हाल्न पर्ने हो ? देशलाइ सकंटमा धकेल्ने हरेक जवाफदेही हुन पर्छ । #नेपाल
महेन्द्र विष्ट
रवि लामिछानेले नागरिकता पुन कायम नगरेर गल्ती गरेका थिए । त्यसमा उनको over confident र कानुनी प्रक्रियालाई नजरअन्दाज गर्ने प्रबृत्ति जिम्मेवार छ। यसर्थ सर्वोच्चको फैसलामा उचितै होला । तर, यहाँसम्म पुगुञ्जेल नरोक्ने जिम्मेवार निकायलाई चाहिँ किन उन्मुक्ति ??
कृष्ण पोखरेल
सर्वोच्चको यो फैसलाले रवि लामिछानेलाई तत्कालका लागि धक्का त लाग्यो। अब उनले फैसलाको सम्मानगर्दै कानुन बमोजिम नागरिकता लिनुपर्छ । त्यसपछि उपप्रधानमन्त्री बन्ने बाटो त खुल्ला नै । मलाई लाग्छ, यो फैसलाले उनको लोकप्रियता ह्वात्तै बढाउने भो र उपचुनाव अझ ठूलो मार्जिनले जित्ने भए ।
खेलाडी उत्पादनमा उपमहानगर चासो
हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले फुटबल खेलाडी उत्पादनको लक्ष्यसहित एकेडेमी सञ्चालन गर्ने तयारी थालेको छ । फुटबलका लागि उर्वरभूमिको रूपमा रहेको हेटौंडाबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित खेलकुद विकास र प्रवर्द्धनमा उपमहानगरपालिकाले प्राथमिकता राख्दै काम अघि बढाएको छ ।
जिल्लामा हुने प्रतियोगिता र राष्ट्रियस्तरका प्रतियोगितामा हेटौंडाको प्रतिभा पुर्याउने उद्देश्यसहित उपमहानगरले खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्न हेटौंडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृतिसँगै नगरबाट खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालनको बाटो खुलेको छ । स्थानीय तहबाटै खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै हेटौंडा उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् ।
कार्यविधि स्वीकृत भएसँगै उपमहानगरपालिकामा आवासीय सुविधासहित खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको छ । कार्यविधिअनुसार उपमहानगरको १९ वटै वडामा रहेका १२ देखि १४ वर्ष उमेर समूहका महिला तथा पुरुष खेलाडी छनोट गरी एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ ।
पारित कार्यविधिअनुसार उपमहानगर क्षेत्रका हरेक वडाबाट १/१ जना महिला तथा पुरुष र यसै क्षेत्रका अब्बल खेलाडीसहित ४५ जनालाई बन्द प्रशिक्षणमा राखेर नियमित प्रशिक्षण, आवास, खानपान, शिक्षा र स्वास्थ्योपचार सुविधासहित एकेडेमी सञ्चालन गरिने उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए । एकेडेमीमा नगरका ४५ महिला तथा पुरुष खेलाडीलाई आवासीय सुविधासहित प्रशिक्षण गराउन उपमहानगरले चालु आव २०७९/०८० का लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
मकवानपुर जिल्ला फुटबल संघसंगको सहकार्यमा नगरप्रमुख मिनाकुमारी लामा संरक्षक रहेको एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन र अनुगमन समितिले एकेडेमीको कामलाई निगरानी र सुधारका लागि निर्देशन दिनेछ । कार्यविधि पारित भएसँगै अब जिल्ला फुटबल संघ मकवानपुरसँग फुटबल एकेडेमी सञ्चालनका लागि औपचारिक सम्झौताको काम अघि बढाउने तयारीमा उपमहानरपालिका रहेको प्रवक्ता न्यौपानेले बताए ।
फुटबलको उर्वरभूमि रहेको मकवानपुरमा सञ्चालित एकेडेमीबाट निस्किएका खेलाडीले राष्ट्रिय स्तरमा नाम कमाउने विश्वास उपमहानगरको छ । जिल्लामा हुने राष्ट्रियस्तरका दुई ठूला प्रतियोगिताका लागि स्थानीय टोलीमा बाहिरका खेलाडी समावेश गराउनुपर्ने बाध्यतालाई एकेडेमीले पूरा गर्दै जाने अपेक्षा गरिएको छ ।