
कुवेतमा अलपत्र आमाकाे उद्दारका लागि दुई छोराले सिधाकुरासँग गरे सहयोगको याचना(भिडियो हेर्नुस्)
स-साना बालबालिका छाडेर बाबु एउटा देश, आमा अर्को देश पुगेका छन् । त्यो परदेशमा पनि सजिलो त कहाँ भयो र ? कुवेत पुगेकी बाँकेकी चन्द्रकला बुढाथोकीले अहिले आफ्नै रोजगारदाताबाट यातना पाएकी छिन् । कुवेतमा आमा, बाबु मलेसियामा । छोराछोरी आफ्नी फूपूकहाँ बस्छन् । नेपालमा भएका उनका छोराछोरीले चाहिँ आफ्नी आमा चन्द्रकलाले दुःख पाएको र उद्दारका लागि याचना गर्दै भिडियो कार्यक्रम सिधा कुरा जनतासँगलाई पठाएका छन् ।
घरेलु कामदारमा रुपमा कुवेत पुगेकी बाँके राप्ती सुनारी गाउँपालिका- ७ की चन्द्रकला बुढाथोकी बिचल्लीमा परेकी छिन् । घरको आर्थिक अवस्था नाजुक भएपछि कुवेत पुगेकी उनलाई रोजगारदाताले चरम शोषणमा पारेको परिवारले बताएका छन् । आफ्ना दुइ छोरालाई घरमै छाडेर गत पुष ७ गते चन्द्रकला कुवेत हानिएकी थिइन् । तर, उनी त्यहाँ रोजगारदाताको चरम शोषणमा परिन् । एक छाक राम्रो खाना पनि नपाउने अवस्थामा बसेकी छिन् उनी ।
आमा विदेशमा रोजगारदाताको चरम शोषणमा परेपछि छोरा लोकेन्द्र र दुर्गेश बुढाथोकीले आमाको उद्दारका लागि सिधा कुरा जनतासँगलाई भिडियो सन्देश नै पठाएका छन् ।
बुबा ललित बुढाथोकी पनि झण्डै डेढ वर्षदेखि मलेसियामा छन् । आमा पनि कुवेत गएपछि उनीहरु आफ्नो फुपुको घरमा साहारा लिइरहेका छन् ।
हाल चन्द्रकला छोरा तथा अन्य आफन्तहरुसँग फोन सम्पर्क समेत आएकी छैनन् । घर मालिकले उनको मोबाइल खोसेको परिवारले बताएको छ । चन्द्रकलालाई कुवेत पुर्याउने एजेण्ट प्रेम रसाइलीलाई हामीले सम्पर्क गरेका छौँ । हामीसँगको कुराकानीमा उनले चन्द्रकलालाई छिट्टै नेपाल फर्काउने बताएका छन् ।
एजेण्टले चन्द्रकलालाई पनि भारत हुँदै कुवेत पुर्याएका थिए । सरकारले २०७३ चैत २० गतेदेखि नेपाली कामदारहरुलाई घरेलु कामदारका रुपमा खाडी जान पूर्ण रुपमा रोक लगाएको थियो । रोक लगाएपछि झनै अवैधानिक बाटो भारत हुँदै जाने नेपाली कामदारको संख्या बढेको पाइएको छ ।