
वैदेशिक रोजगारमा गएकालाई खुसीको खबर : राष्ट्रबैंकले दिने भयो..
काठमाडौं : वैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ ।
राष्ट्र बैंकले ५ वर्षका लागि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले उक्त बचतपत्रको ब्याजदर १२.५० प्रतिशत तोकेको छ ।
वैदेशिक रोजगारीमा रहेका अतिरिक्त वैदेशिक रोजगारीबाट फर्केको ६ महिना अवधि नपुगेका नेपाली नागरिक र गैरआवासीय नेपालीले आफ्नो परिवारको नाममा उक्त बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
भारतमा रहेका नेपालीहरूले भने त्यसमा आवेदन गर्न पाउँदैनन् । बचतपत्रको ब्याज ६–६ महिनामा भुक्तानी हुनेछ ।
राष्ट्र बैंकले फागुन १४ गतेदेखि चैत ३ गतेसम्म बिक्री खुला गर्ने बताएको छ । राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा माग गरिएको कुल रकममा नबढ्ने गरी १० हजार रुपैयाँले भाग हुने रकममा आवेदन गर्न सकिने बताइएको छ ।
बचतपत्र खरिदका लागि आवेदनकर्ताले आफ्नो राहदानी, भिसाको प्रतिलिपि, विदेशी मुद्रामा खाता रहेको भए बचतपत्र खरिदमा प्रयोग भएको उक्त रकम, जम्मा वा खर्च भएको बैंक स्टेटमेन्ट, विदेशमा कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साइजका दुईप्रति फोटो, परिवारका सदस्यका नाममा खरिद गर्ने भए उनीहरूको नागरिकता प्रमाणपत्र, नाबालिगको नाममा भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्छ ।
राष्ट्र बैंकले उच्च महत्व दिएर प्रत्येक वर्ष वैदेशिक रोजगार बचतपत्र बिक्री आह्वान गरेपनि वैदेशिक रोजगारमा रहेका कामदार भने उत्साही नदेखिएको राष्ट्र बैंककै निष्कर्ष छ ।