२०८० जेष्ठ १९ शुक्रबार

बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायीले चलाए ‘नो डिपोजिट’ अभियान, आर्थिक कारेबार पूर्ण रुपमा बन्द

बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायीले चलाए ‘नो डिपोजिट’ अभियान, आर्थिक कारेबार पूर्ण रुपमा बन्द

काठमाडौं । बैंकको चर्को ब्याजको विरोध गर्दै व्यवसायीहरुले ‘नो डिपोजिट’ अभियान नै सुरु गरेका छन् । ७ प्रतिशतमा लिएको कर्जाको ब्याज १७ प्रतिशतसम्म पुर्याएर व्यवसायीलाई सास्ती दिएको भन्दै कैलाली उद्योग वाणिज्य संघले ‘नो डिपोजिट’ अभियान सुरु गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको विरोधमा कैलाली उद्योग वाणिज्य संघले थालेको चरणबद्ध आन्दोलन अन्तर्गत बिहीबार जिल्लाभर ‘नो डिपोजिट’ अभियान चलाएको संघका अध्यष पुष्पराज कुँवरले बताएका छन् । कुँवरका अनुसार बिहीबार व्यवसायीहरुले बैंकहरुमा ‘नो डिपोजिट’ लेखिएको कालो ब्यानर टाँसेर विरोध जनाएका हुन् । ‘हामी अहिले चर्को ब्याजको विरोधकै क्रममा छौँ । सोही विरोध कार्यक्रम अन्तर्गत आज ‘नो डिपोजिट’ अभियान चलाएका हौँ ।’ उनले भने, ‘यो अभियानमा हामीले बैंकमा आर्थिक कारोबार पूर्ण रुपमा बन्द गरेका छौँ ।’

बैंकको चर्को ब्याजदर र राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण व्यवसायी विस्थापित हुने अवस्थामा पुग्दा पनि राज्य गम्भीर नबनेको बताउँदै आन्दोलन गर्न बाध्य भएको अध्यक्ष कुँवरको भनाई छ । ‘हामीले हाम्रा माग स्पष्ट रुपमा राखिसकेका छौँ । तर, सम्बोधन हुने स्थिति देखिएको छैन, यद्यपी केन्द्रीय स्तरबाट पहल होला भन्ने अपेक्षा गरेका छौँ ।’ अध्यक्ष कुँवरले भने, ‘हाम्रा माग कुनै पनि हालतमा राज्यले सम्बोधन गर्नुपर्छ । त्यसो भएन भने आन्दोलन थप सशक्त हुन्छ । देश नै ठप्प हुनसक्ने अवस्था पनि आउन सक्छ ।’

पछिल्लो समय बैंकको चर्को ब्याजदरको विरोधमा उद्योगी÷व्यवसायीहरु देशव्यापी रुपमा आन्दोलित छन् । यसैबीच सुरक्षा चुनौती बढेको भन्दै नेपाल बैंकर्स संघले भने सरकारसँग सुरक्षाको माग गरेको छ । बिहीबार गृहसचिव विनोदप्रकाश सिंह तथा नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहलाई भेट्दै संघले सुरक्षाको माग गरेको हो ।

२०७९ फाल्गुन १९, शुक्रबार प्रकाशित 0 Minutes 104 Views