२०८० जेष्ठ १९ शुक्रबार

स्थानीयले सुरूमा दिमाग खुस्केका भनेर उडाए, अहिले मामा–भान्जा मिलेर चमत्कारी देखाए

स्थानीयले सुरूमा दिमाग खुस्केका भनेर उडाए, अहिले मामा–भान्जा मिलेर चमत्कारी देखाए

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ गोहोरेका ज्ञानप्रसाद ढकालले एक दशकसम्म वायो ग्याँस र सोलार सम्बन्धी काममा समय खर्चिनुभयो ।भूकम्पपछिको समय गैरसरकारी संस्थामा काम गर्नुभयो । राजनीतिमा पनि सक्रिय नै रहनुभयो ।

अन्ततः यी सबै क्षेत्रलाई बिट मार्दै उहाँ अहिले ड्रागन फ्रुट खेतीमा रमाउन थाल्नुभएको छ ।गोरखा नगरपालिका–१२ लुदीखोला स्थित बेलबोटेको करिव ६२ रोपनी बाँझो जमिनमा उहाँले ड्रागन फ्रुटको व्यवसायिक खेती सुरु गर्नुभएको छ । उहाँलाई भान्जा चुडामणी पोखरेलले साथ दिनुभएको छ ।

वनमासा फाँडेर एक वर्ष अघिबाट खेती सुरु गरिएको ढकाल बताउँनुहुन्छ । ‘पहिले खेती हुने जग्गा रहेछ, लामो समय बाँझो भएकाले वनमासाको घारी थियो,’ उहाँले भन्नुभयो, ‘सबै वनमासा फाँडेर ड्रागन फ्रुट खेती सुरु गर्यौं ।’२०७७ सालमा गोरखा हिमालयन नेक्टर प्लस प्रालि दर्ता गरेर २०७८ जेठदेखि खेती सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

इटहरीबाट ल्याइएको ‘सी भेराइटी’को करिब ६ हजार २ सय विरुवा सो क्षेत्रमा लगाइएको छ । २१० रुपैयाँका दरले विरुवा खरिद गरिएको ढकाल बताउँनुहुन्छ ।विरुवाका लागि ३१ सय पोल गाडिएका छन् । एउटा पोलमा दुई वटा विरुवा लगाइएको छ ।केहीले उत्पादन सुरु गरिसके, केही विरुवा हुर्कंदै छन् ।

हालसम्म ३०० क्विन्टल फल उत्पादन गरेर बिक्री गरिसकेको ढकाल बताउँनुहुन्छ । ‘खासमा बिरुवा लगाएको तीन वर्षमा बल्ल राम्रोसँग उत्पादन हुन थाल्छ,’ उहाँले भन्नुभयो, ‘एउटा बोट हुर्किएपछि त्यसले कम्तिमा २० वर्षसम्म उत्पादन दिन्छ ।’ड्रागन फ्रुट खेती गर्ने हुटहुटी जागेपछि उहाँले इन्टरनेटको सहायताबाट सोधीखोजी गर्नुभयो ।

पूर्वमन्त्री लोकेन्द्र विष्टले दाङमा गरेको खेतीबाट प्रभावित बन्नुभएका उहाँ विष्टको फर्म अवलोकनमा समेत जानुभयो । फर्किएर प्राविधिकबाट लुदी खोला कोरिडोरको माटो परीक्षण गराए । खेतीका लागि उपयुक्त देखिएपछि ६२ रोपनी जग्गा किनेर ड्रागन फ्रुट खेती सुरु गर्नुभयो ।

प्रतिरोपनी १ लाख ९० हजारमा जग्गा खरिद गरेको ढकालले जानकारी दिनुभयो ।उहाँका अनुसार हालसम्म यो खेतीमा तीन करोडभन्दा बढी लगानी भइसकेको छ । कम्पाउण्डिङमा मात्रै २५ लाख खर्च भएको उहाँ बताउँनुहुन्छ । ६० लाख खर्चेर तीन वटा भवन बनाइएको छ ।

एउटा गोदामका लागि तथा अरु कर्मचारी र आफ्नो वासस्थानको लागि प्रयोग गर्नुभएको छ । हाल तीन जना स्थायी कामदार छन् । आवश्यकताको आधारमा अन्य कामदारको व्यवस्था गर्ने गरेको उहाँ बताउनुहुन्छ ।उहाँले उत्पादन गरेका ड्रागन फ्रुटको मुख्य बजार काठमाडौं हो ।

माग बढी भएकाले बजारको समस्या नहुने तर्क गर्दै ढकाल भन्नुहुन्छ, ‘नेपालको उत्पादनले माग धान्न सकेको छैन, अहिले भियतनाम, भारत लगायतका देशबाट आयात हुन्छ, तर यहाँको जस्तो स्वादिलो र मिठो हुँदैन ।’ हाल बजार मूल्य प्रतिकेजी ८ सयसम्म रहेको उहाँले जानकारी गराउनुभयो ।

बैंकबाट करिव दुई करोड ऋण लिएर खेती सुरु गरेको बताउने उहाँहरु खेती बिस्तार गर्ने तयारीमा हुनुहुन्छ । १२ सय पोल थपेर विरुवा रोप्ने तयारी भइरहेको ढकालले बताउनुभयो । भविष्यमा जुस उद्योग खोल्ने योजना समेत रहेको उहाँले सुनाउनुभयो । एक वर्षमा करिव डेढ करोड आम्दानी गर्ने अपेक्षा उहाँहरुको छ ।

जिल्लाका अन्य क्षेत्रमा पनि ड्रागन फ्रुट खेती गरे पनि यति धेरै क्षेत्रफलमा खेती गर्ने आफूहरु पहिलो रहेको ढकालको दाबी छ । ‘जिल्लाका अन्य ठाउँ भएको खेती थोरै क्षेत्रफलमा छ, यति धेरै क्षेत्रफलमा खेती सुरु गर्ने हामी नै पहिलो हौं,’ उहाँले भन्नुभयो, ‘खेती गर्दा सुरुमा त स्थानीयले दिमाग खुस्केकाले सिउँढी रोपे भनेर उडाए, अहिले चाहिँ अचम्म परेका छन् ।’

२०७९ फाल्गुन ३०, मंगलवार प्रकाशित 0 Minutes 57 Views