२०७८ माघ ११ मंगलवार

दुबईमा अनौठो नियम लागु घरको बार्दलीमा कपडा सुकाए जरिवाना !

दुबईमा अनौठो नियम लागु भएको छ । अबदेखि युएइको दुबईमा स्थानीय बासिन्दाले घरको बार्दलीमा कपडा सुकाउन पाउने छैनन् । यदि अटेरी गरेर बार्दलीमा कपडा सुकाएको पाइएमा स्थानीय प्रशासनले जरिवाना तिराउनेछ ।

स्थानीय प्रशासनले हालै लागू गरेका नियम अनुसार अबदेखि दुबईमा बाल्कोनीमा कपडा सुकाउन मात्र होइन बाल्कोनीमा उभिएर चुरोट पिउन तथा चुरोटको ठुटा वा खरानी तल फ्याँक्न पनि पाइनेछैन । दुबई नगरपालिकाका अनुसार सहरलाई सफा राख्नका लागि यो कदम उठाइएको हो ।

दुबई नगरपालिकाले बासिन्दाहरुलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको दुरुपयोग नगर्न आग्रह गरेको छ । घरको बार्दली भद्दा देखिने र सहरलाई कुरुप बनाउने काम नगर्न नगरपालिकाले ट्वीटरमार्फत् आग्रह गरेको छ । दुबई नगरपालिकाका अनुसार बाल्कोनीको दुरुपयोग गर्दै यी काम गरेमा जरिवाना तिर्नुपर्नेछः

१-बाल्कोनी वा झ्यालमा कपडा सुकाउने
२-चुरोटको ठुटा वा चुरोटको खरानी बाल्कोनीबाट तल फ्याँक्ने
३-बाल्कोनीबाट फोहोर तल फ्याँक्ने
४-बाल्कोनी सफा गर्दा पानी तल फ्याँक्ने वा एसीको पानी तल चुहाउने
५-बाल्कोनीमा स्याटेलाइट डिस वा अन्य एन्टेना लगाउने
६-चराहरुलाई चारो खुवाउने

उल्लेखित कामहरु गरेर नियम उल्लंघन गरेमा ५ सय देखि १५०० दिरामसम्म जरिवाना तिर्नुपर्नेछ ।यसअघि सन् २०१८मा कुबेतले पनि यस्तै नियम बनाएको थियो । त्यस पश्चात् बहराइनमा पनि बाल्कोनीमा अण्डरवेयर लगायतका कपडा सुकाउन प्रतिबन्ध लगाइएको थियो ।

मेरो लाइफस्टाइल बाट|

२०७८ पुष २२, बिहीबार प्रकाशित 1 Minute 27 Views

ताजा समाचार