२०७८ माघ ११ मंगलवार

परिबार पाल्न युएई पुगेकाहरुको कन्ति बिजोग ! न खाना छ न बस्न !

बिहानको पारिलो घाम। गौशाला सडकछेउमा छ-सात जनाको एउटा समूह थियो। कोही बेन्चमा बसेका त कोही उभिएका। एक महिलाले काखमा सानो बच्चा पनि च्यापेकी थिइन्। जाडोमा घाम ताप्दै गफ्फिन कम्ता मज्जा आउँदैन। तर उनीहरू टोलाएर बसिरहेका थिए।

बर्को गमलङ्ग ओढेर निन्याउरो अनुहार लगाएर बसिरहेकी एक महिलाले खुइय्य गर्दै भनिन्, ‘मेरो छोराले चार दिनदेखि केही खान पाएको छैन। भोलिसम्म पनि केही खान पाइनँ भने त मर्छु होला आमा भन्दै थियो। जसरी हुन्छ निकाली दिनुपर्‍यो।’उनले यो दुःख भोजपुरी भाषामा बिसाएकी थिइन्। त्यहाँ भएका सबैको पीडा एउटै रहेछ। उनीहरूका आफन्त परदेशमा ‘कमाउन’ भनेर गएका थिए। घरका समस्या सल्टाउन गएकाहरू नै समस्यामा परेपछि उनीहरू बेचैन भएर काठमाडौं आएका रहेछन्।

पर्सा रामनगरीकी ५० वर्षीया शान्तीदेवी पटेलका छोरा पुन्देव दुई महिनाअघि कमाउन भनेर संयुक्त अरब इमिरेट्स (युएई) गएका थिए। कमाउनु त कता हो, केही दिनदेखि आफू भोकै भएको सुनाइरहेका छन् पुन्देव। छोराको भोको पेटले शान्तिदेवीलाई पिरोलेको छ। त्यसैले छोरा फर्काइदिनु पर्‍यो भन्दै गत आइतबार मात्रै काठमाडौं आइपुगेकी हुन्। ‘चलाइरहेको टेम्पो उधारोमा बेचेर कर्जा लिएर हिँड्यो। टेम्पोको पैसा अझै पाइएको छैन। उता छोरालाई राम्रो काम मिलेन। मलाई यहाँ आउन पनि कर्जा लिनुपर्‍यो,’ शान्तिदेवी भक्कानिन्। घोप्टो परेर बर्कोले आँखा पुछिन्। शान्तिदेवीसँगै बसेकी थिइन् पर्साकै सुन्दरपति देवी कुर्मी राउत। कमाएर आउँछु भन्दै परदेश गएका श्रीमान भोकै परेको सुनेपछि आफू पनि ऋण खोजेर काठमाडौं आएको उनले बताइन्।

‘पैसा छैन, के गर्नु साहुलाई पाँच हजार ऋण मागेर काठमाडौं आएकी। उनी बाँचेर आए त ऋण जसोतसो तिरौंला नि,’ काखमा बच्चा च्यापेकी सुन्दरपतिले भनिन्, ‘म्यानपावरले अप्ठ्यारो काममा पठाइदियो।’ सुन्दरपतिका श्रीमान पन्नालाल कुर्मी राउत हुन्। हरिहरपुर पर्सा घर भएका उनीहरूका दुई छोरा र एक छोरी छन्। सामान्य परिवार, आम्दानीको बाटो केही छैन। यसअघि पन्नालाल नेपालमा निर्माण क्षेत्रमा काम गर्थे। पैसा कम, त्यसमाथि लगातार काम नहुँदा खर्च धान्न हम्मे पर्‍यो। अनि विदेश जान बाध्य भएको सुन्दरपति बताउँछिन् । पन्नालाल एक लाख ८० हजार ऋण लिएर विदेश गएका हुन्। त्यो ऋणको ब्याज बढ्दै गएको छ। तर उनी कमाएर फर्कने अवस्थामा छैनन्। ‘अर्काको ठाउँमा भोकै मर्नुभन्दा बरू उनी रित्तै आऊन्, यहीँ कमाएर तिर्लान्। जसरी हुन्छ उहाँहरूलाई छिट्टै फर्काइदिए हुन्थ्यो,’ उनले भनिन्।

आफ्नो छोरा परदेशमा भोकभोकै परेको सुनेपछि जोखन सहनी मला पनि गत सोमबार काठमाडौं आए। ५५ वर्षीय जोखन खोलामा माछा मार्छन्। गुजारा गर्ने अरू उपाय छैन। उनका छोरा निरन्जन दुई महिनाअघि मात्र युएई गएका थिए। ‘उता छोरा भोकै छ रे। कसैले फर्काउन सहयोग गर्नुहुन्छ कि भनेर दुई हजार ऋण काढेर म काठमाडौं आएको,’ उनले भने, ‘फुसको घरमा बस्छौं। अरू केही छैन। छोरा कमाएर फर्केला भनेको, फर्काउनै पो ऋण लाग्यो।’
आफ्ना परिवारका सदस्यलाई अप्ठ्यारो परेपछि फर्काइदिन उनीहरूले म्यानपावरसँग आग्रह गरेका छन्। तर म्यानपावरले थप पैसा मागेको उनीहरूको भनाइ छ। ‘उनीहरूलाई फर्काउने हो भने प्रतिव्यक्ति एक लाख ४० हजार फेरि तिर्नुपर्छ भन्यो। कहाँबाट ल्याउने अब हामीले,’ युएईमा समस्या परेका प्रमोद राउतका आफन्त जुगेश्वर राउतले भने।

विदेशमा समस्यामा परेका उनीहरूका आफन्त पनि म्यानपावरले आफूहरूलाई झुक्याएको बताउँछन्। जोखनका छोरा निरन्जनलाई त्यहाँ प्लम्बरको काम भनिएको थियो। तर त्यहाँ गएर बेल्चा खन्ने काम परेको उनले बताए। ‘महिनामा १७ सय दिराम कमाइ हुने भनेको थियो। तर कम्पनीले एक महिना काम गरेपछि दुईपटक गरेर तीन सय मात्रै दियो,’ निरन्जनले सेतोपाटीसँग मेसेन्जर कलमा भएको कुराकानीमा भने, ‘खान पनि राम्रो छैन। एउटा सुख्खा रोटी र नुन खाएर कति दिन टर्‍यो। चार दिनदेखि त केही खान पाएको छैन।’ शान्तिदेवीका छोरा पुन्देव पनि घरमा क्लिनर काम भनेर सडकको काममा पठाएको बताउँछन्। ‘यहाँ चर्को घाममा सडकमा खन्ने, ढुंगा फोर्ने काम गर्नुपर्‍यो। अब हामी यो काम गर्दैनौं, जसरी पनि नेपाल फर्कन्छौं भनेको म्यानपावरले सुन्दैन,’ उनले गुनासो गरे।

अहिले उनीहरू आठ जना समस्यामा परेर देश फर्किन चाहेका छन्। उनीहरूले विदेश जानुअघि पाएको कामदार सम्झौता पत्रमा पनि क्लिनर काम भनेर लेखिएको छैन। ‘बिल्डङ लेबर’ नै लेखिएको छ। तर आफूहरू लेखपढ गर्न नजान्ने भएकाले यसबारे केही जानकारी नभएको निरन्जन बताउँछन्। ‘हामीलाई चिनजानकै एक जना मान्छेले क्लिनरको काम भन्यो। उसले नै म्यानपावरमा पुर्‍याइदियो,’ निरन्जनले भने। उनका अनुसार त्यसपछि उनीहरू आठ जनाले प्रतिव्यक्ति एक लाख ६० हजार बुझाएका थिए। पासपोर्ट लगायत अन्य खर्च गरेर विदेश जाँदा प्रतिव्यक्ति एक लाख ८० हजार खर्च भयो।

उनीहरूलाई गौशालास्थित योङ म्यानपावर कम्पनीले पठाएको हो। हामीले यसबारे उक्त म्यानपावरसँग पनि सोध्यौं। युएई सारजास्थित डिस्कभरी इम्प्लोइमेन्ट कम्पनीमा आफूहरूले ‘कन्स्ट्रक्सन लेबर’ भनेरै पठाएको म्यानपावर सञ्चालक शालिकराम दाहालले बताए।
‘हामीले कन्स्ट्रक्सन लेबर भनेर पठाएका हौं। तर उनीहरूले घरभित्रको काम सोचेका रहेछन्। उनीहरूकै मान्छेले केके भनेर फसायो, त्यो हामीलाई जानकारी छैन। अनि म्यानपावरले उनीहरूसँग प्रतिव्यक्ति ४५ हजार रूपैयाँ मात्रै लिएको छ,’ शालिकरामले दावी गरे। सरकारले मलेसिया तथा खाडी लगायत मुलुकमा कामदार भिसामा जाँदा दस हजार रूपैयाँ सेवाशुल्क तोकेको छ। तर तोकिएभन्दा बढी रकम म्यानपावरले असुल्ने गरेका छन्।

शालिकरामलाई यसबारे सोध्दा उनले भने, ‘कसैले पनि दस हजारमा पठाउन सक्दैन। सबै खर्च हिसाब गर्दा हामीले पनि धेरै लिएका छैनौं। उनीहरूले बुझायौं भनेको रकम एजेन्टको हातमा पर्‍यो होला।’ सरकारले यो क्षेत्रमा एजेन्ट खारेज गरिसकेको छ। तर अझै पनि केही म्यानपावर कम्पनी एजेन्टसँगको मिलोमतोमा श्रमिक ल्याउने र पठाउने काम गरिरहेका भेटिन्छन्। यसमा सरकारले कडाइ गर्न नसक्दा श्रमिक अझ मारमा परेका छन्।

योङ म्यानपावरमार्फत् गएका पर्साका आठ जना- निरन्जन सहनी मलह, पवन ठाकुर हजाम, प्रमेस राउत, गोबलकुर्मी राउत, ताराचन कुर्मी राउत, रामनगरी, पनालाल कुर्मी राउत र पुन्देव पटेलका आफन्तले वैदेशिक रोजगार विभागमा म्यानपावरविरूद्ध उजुरी दिएका छन् । अप्ठ्यारोमा परेका आठ जनालाई तत्काल फिर्ता गरी जाँदा लागेको लागत र क्षतिपूर्ति म्यानपावरले बेहोर्नुपर्ने गरी उनीहरूले उजुरी दिएक

२०७८ पुष २७, मंगलवार प्रकाशित 1 Minute 47 Views

ताजा समाचार