
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अबको केही दिनमै ठूलो पहिरो जाने निश्चित भएको छ । लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यवहार परिवर्तन नगरेको र आफूहरुको राजनीतिक भविश्य समाप्त हुन खोजेको निष्कर्ष निकालेका उनीहरुले नयाँ दल दर्ता गरेर नयाँ ढंगको राजनीति सुरु गर्न खोजेका हुन् ।
नयाँ पार्टीको नेतृत्वमा घनश्याम भुसाल, भीम रावललगायत नेताहरु रहनेछन् । नयाँ पार्टी दर्ताका लागि आवश्यक तयारीहरु भइरहेको र अबको केही दिनमै निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने उनीहरुको तयारी छ । भीम रावल नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार दिए । तर उनी अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भए । पदाधिकारीमा पराजित भएकाहरु स्वतः केन्द्रीय सदस्य बन्न पाउने प्रावधान रहेको भए पनि पनि रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे ।
यस्तै नेता घनश्याम भुसाल पनि पदाधिकारीमा उम्मेदवार भएर पराजित भएका हुन् । उनले भने केन्द्रीय सदस्य स्वीकार गरेका छन् । केही दिनअघि घनश्याम भुसाल र भीम रावलले नेकपा एमाले छाड्न खोजेको चर्चा चुलिएको थियो । स्रोतका अनुसार उनीहरुले नेकपा एमाले त्यागेर नयाँ दल दर्ता गर्न लागेका हुन् । पार्टी विभाजन नहुँदा लामो समयसम्म नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको साथमा रहेका नेता रावलले केही रणनीतिसहित एमालेमा बसेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचकको रुपमा रहेका रावल नै माधव नेपालको साथ छाडेर एमालेमै बस्नुलाई त्यतिबेला नै रहस्यको रुपमा हेरिएको थियो । नयाँ पार्टी दर्ता गर्नकै लागि उनी एमालेका कुनै पनि कमिटीमा नबसेका एमालेकै नेताहरुको आरोप छ । १० औँ महाधिवेशनमा आफूले एमाले अध्यक्षमा विजयी हाँसिल गरेमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि एमालेमै समाहित गर्ने रावलको रणनीति थियो । त्यसै रणनीतिअनुसार नै भीम रावललगायत नेताहरु एमालेमै बसेकासमेत चर्चा भइरहेको छ ।
पहिले माधव नेपाल क्याम्पमा रहेका सचिव योगेश भट्टराईहरुले भने भीम रावल र घनश्याम भुसालहरुलाई साथ नदिने बुझिएको छ । उनी केपी ओलीको समर्थनमा खुलेरै अघि बढिसकेका छन् । यस्तै अष्टलक्षमी शाक्यलगायत प्रभावशाली नेताहरु पनि नयाँ पार्टीमा जानेबारे निर्णय गर्न सकिरहेका छैनन् । यसअघि शाक्य र रावल, भुसालहरु एउटै क्याम्पमा रहेका थिए ।
अन्तत पासा पल्टियो, एमाले र सूर्य चिह्न नै माधव नेपालको पोल्टामा !
काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँगै ५८ केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सनाखतका लागि बुधवारको समय तोकेको छ । एकताका पक्षधर मानिने ५७ केन्द्रीय सदस्यहरू अन्तिम अवस्थामा विद्रोह गर्ने सम्भावना रहेको एमालेका नेता राजेन्द्र राई बताउँछन् ।
शनिवार एक स्ट्याटस लेख्दै नेता राईले भनेका छन् – ‘माधव पक्षीय एकता अभियान वाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा (११५), निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो (११५), चिन्ह र नाम त पाइने देखियो.. आयोगमा दर्ता भएको संख्याका आधारमा नेपालको पक्षमा बहुमत केन्द्रीय सदस्य रहने उनको दाबी छ । दल विभाजनसम्बन्धी कानूनी प्रावधानका आधारमा बहुमत पक्षलाई पार्टीको आधिकारिकता र चुनाव चिह्न दिने व्यवस्था रहेको छ ।
रावलको नेतृत्वमा अर्को २० प्रतिशतको खेल सुरू ? नेकपा एमालेमा विभाजनको संकेत देखिएको छ । एमाले विभाजन हुँदा कतै नलागेको बताएका नेताहरूले एमालेमा फरक पार्टीको अभ्यास गर्नेगरी आफ्नो तयारी अगाडी बढाएपछि यस्तो संकेत देखिएको हो । खासगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार एक कार्यक्रममा पिलो निचोरिएको तर खील निस्कन अझै बाँकी रहेको बताएपछि माधव नेपालको साथ् छाडेका नेताहरू तर्सिएका छन् । त्यसलगत्तै एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावलले नयाँ अभ्यासको सुरुवात गरेका छन् ।
विभाजनपछि माधवकुमार नेपाल पक्षमा नगएका एमालेका रावललगायतका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सके सुधार्ने नत्र विद्रोह गर्ने तयारी बारे छलफल गरेका छन् । एमाले फुटाएर नयाँ दल दर्ताको निवेदन दिएका माधव नेपालले आफूहरूलाई महत्व नदिएर तेस्रो तहका नेताहरूलाई लिएर अगाडी बढेपछि नेपाल समूहमा तत्काल नजाने जनाएका नेताहरूले फरक रणनीति बनाउन बैठक नै बोलाएका छन् ।