
काठमाडौं, माघ ८ । सरकारले भिजिट भिसामा मलेसियालगायतका खाडी मुलुक जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै १० माघबाट खाडीका देश र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलद्वारा जारी सूचनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिरहेको र विभिन्न उद्देश्यले खाडीका देश र मलेसियामा गएका नेपालीहरू बिचल्लीमा परेको गुनासो आएपछि यस्तो निर्णय गरिएको उल्लेख छ । सूचनामा ती मुलुकमा लगाइएको रोक अर्को आदेश जारी नभएसम्म जारी रहने उल्लेख छ ।
अन्य समाचार | अभिनेता, गायक तथा निर्देशक हरिवंश आचार्यले पछिल्लो समय सार्वजनिक गरेका अधिकांश गीतमा सामाजिक कथा समेटिएका छन् । हरिवंशले मानिसको जीवनसँग जोडिएका गीतदेखि समाजमा चेतना जगाउने गीतलाई प्राथमिकतामा राखेको देख्न सकिन्छ ।
यसैबीच, हरिवंशको नयाँ गीत ‘कर्कलो कोक्याउला’को भिडियो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । यो गीतले चेलिबेटी बेचबिखनको कथा भन्दै उनीहरुलाई सजग गराउने काम गरेको छ । चेलिबेटीलाई दलालले कसरी झुक्याउँछन् र विदेशमा लगेर बेच्न खोज्छन् भन्ने भावमा यो गीत बनेको छ ।
गीतमा हरिवंशकै शब्द तथा संगीत छ भने गायनलाई उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । किरण तुलाधरको एरेञ्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।
यो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । उनले भिडियोमा स्कुल टप गरेर कलेज पढ्न जाँदै गरेकी एक युवतीलाई कसरी दलालले फसाउँछन् भन्ने देखाएका छन् ।
भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र महेश त्रिपाठीको अभिनय रहेको छ । भिडियोमा नविन लम्साल र घनश्याम पाण्डेले पनि साथ दिएका छन् । गीति नाटक शैलीमा तयार पारिएको गीतको भिडियोलाई सुशील सापकोटाले खिचेका हुन् ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै हरिवंश आचार्यले चेलिबेटी बेचबिखन विरुद्धमा जागरुकता जगाउन यो गीतले समुन्द्रमा एक थोपा भएपनि पानी हाल्न प्रयास गर्ने विश्वास व्यक्त गरे । अभिनेत्री स्वस्तिमा खड्काले यस्ता गीतका भिडियोमा काम गर्ने सपना हरेक कलाकारको हुने बताइन् । यहि भिडियोको बारे कुरा गर्दै हरिवंश र स्वस्तिमा रुएको देखन सकिन्छ