२०७९ जेष्ठ ८ आईतवार

भारतमा भेष बदलेर बसेका थिए प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी यमराज

११ माघ, दाङ । प्रहरीकै मोटरसाइकल लिएर दाङको घोराही कारागारबाट फरार भएका कैदी यमराज परियारलाई एक महीनापछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको भनिए पनि उनी भारतबाट पक्राउ परेको उच्च स्रोतले बताएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यमराज गत पुस ८ गते उपचारका क्रममा प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । उनी भागेको दोस्रो दिन मोटरसाइकल भने लमही नगरपालिका-६ बेलदमारको जंगलमा फेला गरेको थियो । स्रोतका अनुसार उनी केही दिन हिंडेर जंगलको बाटो हुँदै भारत पुगेका थिए । ‘रातारात लमहीको जंगल हुँदै नेपाल-भारत सीमाबाट भारत गएको देखियो’ उनले भने, ‘हिंडेरै नाकाको बाटो हुँदै भारत पुगेको खुलेको छ ।’

उनलाई त्यहाँ रहेका अफ्ना भाइ र साथीहरूको सहयोगमा भारतको पञ्जावको लुधियाना पुग्न सफल भएका थिए । त्यहाँ उनी भेष बदलेर लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको एक अनुसन्धान अधिकारीले बताए । कारागारमा हुँदा नाइके परियारले कपाल र दाह्री लामो पालेका थिए । त्यतिबेला उनको हुलिया अहिलेको भन्दा बिल्कुल फरक देखिन्थ्यो । पहिले दाह्री र कपाल लामो पालेका परियार त्यहाँ कपाल र दाह्री फालेर फरक हुलियामा बसेका थिए । ‘

हुलिया नै बदलेर बसेपछि प्रहरीलाई पनि चिन्न गाह्रो परेको थियो’ ती अधिकारीले भने, ‘हुलिया बदले पनि आँखा हेरेर चिन्न सकियो । शरीरमा खोपेको ट्याटुले पक्राउ गर्न सजिलो भयो ।’ उनी फरार भए लगत्तै प्रधान प्रहरी इन्टरपोल खटिएको थियो । कैदी यमराज बस्न सक्ने सम्भाव्य स्थानहरू, उनले प्रयोग गर्ने फोन, भाइवर, ह्यटएपलगायतका माध्यमबाट परियारको लोकेसन पत्ता लगाइयो । त्यसक्रममा उनले विभिन्न फोन र सिम प्रयोग गरिएको पाइएको अनुसन्धान अधिकारीले बताए ।

अन्ततः एन्की अपरेसन मार्फत फरार कैदी यमराजलाई महीना दिनमै पक्राउ सोमबार दाङ ल्याएको छ । यसलाई सफलता हात पारेको एसपी काफ्लेले बताए । यसअघि सो प्रकरणमा संलग्नता रहेको आशंकामा घोराही कारागारका जेलर युवराज परियारलाई पदमुक्त गरी अनुसन्धानका लागि केही दिन हिरासतमा राखिएको थियो । अनुसन्धानका क्रममा उनी दोषी नदेखिएपछि पुस १६ गते छुटेका थिए ।

यमराज फरार प्रकरणमा प्रहरी जवान चौधरी र तुलसीपुर उपमहानगरपालिका-१० की २२ वर्षीया समी चौधरी पुर्पक्षका जेल चलान भइसकेका छन् । त्यस्तै सोही प्रकरणमा संलग्नता रहेको भन्दै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन् ।

यो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोप लागेकी घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका-१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो । त्यसपछि तुलसीपुर कारागारका जेलर अमर वलीलाई घोराही कारागारमा खटाइएको थियो ।

२०७८ माघ १३, बिहीबार प्रकाशित 1 Minute 121 Views

ताजा समाचार