
कांग्रेस नेतृत्वको सरकारले प्रदेश प्रमुख हटाउने भएको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई बिदा गर्न लागिएको हो।पहिलो चरणमा लुम्बिनी, गण्डकी र प्रदेश २ का प्रमुखलाई हटाउने तयारी शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको छ। उनीहरुलाई आज, भोलि नै हटाउने तयारी भएको उच्च सरकारी स्रोतले जनाएको छ।
ओली सरकारले प्रदेश २ मा तत्कालीन प्रमुख तिलक परियारलाई हटाएर डा. राजेश अहिराजलाई नियुक्त गरेको थियो। उता गण्डकीमा अमिक शेरचनलाई हटाएर सीता पौडेललाई नियुक्त गरिएको थियो। नेकपा विभाजित भएपछि माओवादी कोटाबाट बनेका शेरचन र परियारलाई एमालेको एकल सरकार हुँदा हटाइएको थियो।
लुम्बिनीमा कांग्रेसबाट नियुक्त उमाकान्त झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाइएको थियो। अहिले बागमती प्रदेश प्रमुखमा विष्णु प्रसाद प्रसाई, सुदुरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव, गण्डकी प्रदेश प्रमुखमा सीताकुमारी पौडेल, लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादव, प्रदेश १ प्रमुखमा सोमनाथ अधिकारी, प्रदेश २ प्रमुखमा डा. राजेश झा र कर्णाली प्रदेश प्रमुखमा गोविन्द प्रसाद कलौनी छन्।
हरेक पटक सरकार फेरिँदा सबैभन्दा पहिले प्रदेश प्रमुख फेर्ने गरिएको छ। यस पटक पनि देउवाले ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाएर कांग्रेस, माओवादी, जसपा उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहकालाई भागवण्डासहित नियुक्ति तयारी गरेका हुन्।
Online khabar