२०७९ जेष्ठ १३ शुक्रबार

नबिर्से तिमीलाई नपाएँ तिमीलाई‘ रचनाको स्वरमा पुनः रेकर्ड भएपछि अन्जु पन्तले मुख खोलिन, अब के हुन्छ ?

गायिका अन्जु पन्तले १५ वर्षअघि गाएको गजल ‘नबिर्से तिमीलाई नपाएँ तिमीलाई…’ यतीबेला विवादमा परेको छ। गीतकार विपिन किरणको यो गजललाई चार दिनअघि उनले नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गराएपछि विवादमा परेको हो ।

यस अघि यो गजल सुरूमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदीश समालको स्वरमा रेकर्ड भएको थियो। निकै चलेको यो गजललाई हाल रचना रिमालको स्वरमा रेकर्ड गराएर ‘रचना रिमाल भर्सन’ भन्दै बजारमा ल्याएपछि यो विवादमा तानिएको हो।

यसैबीच गीतको गायिका अन्जु पन्तले ओरिजीनल गायक/गायिकाको नाम उल्लेख नगरिनु दुखद भएको बताएकी छन्। ‘उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाहिँ दुखद र अन्यायपूर्ण कुरा हो,’ उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै भनेकी छन्, ‘के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन ।’

उनले एक व्यक्तिको कुराभन्दा पनि संगीत र कलाकारलाई दिने सम्मान नै भुल्न लागिरहेको हो कि भनेर चिन्ता लागेको बताएकी छन्।

‘म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ’, उनले भनेकी छन्,‘ आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ।

उनले भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस् भनि कामना समेत गरेकी छन्।
यद्यपी उनले गजललाई नयाँ गायिकालाई फरक भर्सनमा गाउन लगाउनुले आफूलाई दुःख नलागेको बताइन्। ‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ,’ उनले अगाडि भनेकी छन्।

२०७८ माघ २६, बुधबार प्रकाशित 0 Minutes 116 Views

ताजा समाचार