२०७९ जेष्ठ ८ आईतवार

छोराछोरी बचाउन गएका बुवा फर्केर आउन सकेनन्…

दाङको तुलसीपुर उपमहानगर भए पनि सम्साँझै सुनसान हुन्छ। हिउँदे वर्षाले चिसिएको तुलसीपुरका बासिन्दा बिहीबार साँझ घरभित्र पसिसेका थिए। रात छिप्पिँदै जाँदा लामो दूरीका बस र ढुवानीका सामान बोक्नेबाहेक अरू सवारी साधन सडकमा थिएनन्। प्राय: रात यसरी नै बित्ने तुलसीपुरमा बिहीबार मध्यरातिपछि भने हो-हल्ला भयो।

तुलसीपुर-५ ‘ङ’ लाइनको घरमा सुतिरहेका ४० वर्षीय नगरदिन अली राति करिब १ बजेतिर ब्युझिएँ। धुँवाको गन्ध आइरहेको थाहा पाएपछि हेर्न बाहिर निस्किए। घरमा ठूलो धुँवाको मुस्लो देखेपछि उनी सँगै सुतेकी श्रीमती र आफ्नो बुवालाई लिएर सडकमा आए।

आगो नदेखिए पनि धुँवा व्यापक भइसकेको थियो। उनका छोराछोरी त्यही घरमा सुतिरहेका थिए। ५ वर्षीय छोरा अबिददिन अली र १३ वर्षीया छोरी सुजिता खातुनलाई लिन नगरदिन फेरि घरभित्र पसे।
नगरदिन र उनकी श्रीमती घरको अगाडि र बच्चाबच्ची पछाडि अन्तिम कोठामा सुत्ने गर्दथे।

पाँच मिटरमा ठडिएको घरमा पछाडि न कुनै निकास थियो न कुनै झ्याल। साँघुरो घरभित्र जुत्ता-चप्पलको गोदाम राखिएको थियो। आगो त्यही गोदाममा लागेको थियो।छोराछोरी बचाउन गएका नगरदिन धुँवामा निसास्सिएर बाटो मै लडे। नगरदिन फर्किएनन्। छिमेकीहरू कराउन थाले। प्रहरीलाई खबर भयो, मध्यरातमा साइरन बजाउँदै दमकल गुड्न थाले।

मध्यरातमा आइलागेको आपतले तुलसीपुरवासी ब्युँझिए र घ,टनास्थलमा पुगे।आगलागी भएको बजार क्षेत्रमा पानीका कुनै मुहान थिएनन्। नजिकै अरनीको मैदान नजिकै खानेपानीको कार्यालय छ। तुलसीपुरको प्यास पहाडी भूभागका मुलकोट, बाख्रे, छरछरेजस्ता मुहानले मेट्ने गर्छन। स्थायी पानीको स्रोत छैन। खहरे खोला थुप्रै भए पनि पुस-माघमा ती बगरमा बनिसक्छन्।

२०७८ माघ २९, शनिबार प्रकाशित 1 Minute 91 Views

ताजा समाचार