२०७९ जेष्ठ ८ आईतवार

भरतपुरबासीको अपिल : मेयरमा फेरि पनि रेनु दाहाल दोहोरिनुपर्छ,,,

भरतपुर: सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै जनताले आफ्ना जनप्रतिनिधिबारे चासो बढाएका छन्। सरकारले निर्वाचनको मिति तोकेपछि आम मतदाताले आफ्नो स्थानीय तहमा को उम्मेद्वार बन्ला भन्ने चासो मात्र राखेका छैनन्, अबको उम्मेद्वारबारे आफ्नो अभिमतसमेत राख्न थालेका छन्। आगामी वैशाख ३० गते एकै चरणमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा देशभरिबाट झण्डै २९ हजार जनप्रतिनिधिका लागि लाखौं उम्मेद्वारले प्रतिस्पर्धा गर्दैछन्। सोमबार बसेको मन्त्रीपरिषद बैठकले निर्वाचनको घोषणा गरेपछि दलहरूसमेत निर्वाचनको आन्तरिक तयारीमा लागेका छन्।

निर्वाचनको घोषणासँगै दलहरू निर्वाचन केन्द्रित कार्यक्रमको तयारीमा जुटेका छन् भने मतदाताहरू आफ्नो स्थानीय तहमा को–को उम्मेद्वार बन्लान् भन्ने चासो व्यक्त गर्न थालेका छन्। मतदाताले अघिल्लो कार्यकालमा कुन जनप्रतिनिधिले कस्तो काम गरे भन्ने हिसाबकिताबसमेत गर्न थालेका छन्। अधिकांश जनप्रतिनिधिले आफ्नो कबोल र चुनावी प्रतिवद्धताअनुरूप काम गर्न नसकेको मतदाताको गुनासो छ। तर, भरतपुरको माहौल भने त्यसभन्दा पृथक देखिएको छ। स्थानीय तहका निर्वाचनमध्ये देशका महानगरबारे चर्चा हुनु स्वाभाविक छ। देशका ६ वटा महानगरमध्ये साँढे चार वर्षको अवधिमा कुन महानगरले के प्रगति ग¥यो ? यो प्रश्न आम देशबासीको साझा प्रश्न बन्ने गरेको छ। देशको समग्र विकासमा नेतृत्वदायी भूमिका खेल्ने महानगरहरूको विकासको स्थिति हेर्दा भरतपुरबाहेक कुनै पनि महानगरले प्रभावकारी भूमिका खेल्न सकेका छैनन्।

भरतपुर महानगर कार्यसम्पादनका दृष्टिले हरेक वर्ष देशको उत्कृष्ट महानगरमा छनोट हुँदै आएको छ। त्यसको नेतृत्व गरेकी छिन् – माओवादी केन्द्रीय सदस्य रेनु दाहाल। ललिलपुर महानगरले भरतपुरलाई पछ्याउन खोजे पनि अपेक्षित प्रगति देखिएको छैन। अरू महानगरहरूले नगरबासीलाई खास सन्तुष्ट दिन सकेको देखिँदैन। विराटनगर र वीरगञ्जका मेयरहरू सक्रिय नै देखिए पनि परिणाममुखी नजिता देखिएको छैन। काठमाडौं र पोखराका मेयरहरू भने अत्यन्तै सुस्त गतिमा अघि बढिरहेका छन्। महानगरका मेयरहरूको कार्य सम्पादन कमजोर देखिएका बेला भरतपुरका मेयर रेनु भने अब्बल देखिएकी छिन्। साँढे चार वर्षको अवधिमा भरतपुरमा गरिएको भौतिक एवं मानवीय विकासले इच्छाशक्ति भए स्थानीय जनप्रतिनिधिले धेरै गर्न सक्छन् भन्ने पुष्टि गरेको छ। आफ्नो पार्टीका समर्थकले मात्र होइन, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलहरूका नेता–कार्यकर्ताले समेत भरतपुर फेरि एकपटक रेनु दोहोरिनुपर्ने मत राखिरहेका छन्।

रेनुले फेरि मेयरमा दोहोरिनुपर्ने भन्दै उनीमाथि भरतपुरबासीले दवाव बढाएका छन्। लाभका पदमा खास रूचि नराख्ने स्वाभावकी रेनुलाई आफ्नो कार्यकालमा थालेका कामहरू सम्पन्न गर्न फेरि पाँच वर्ष नेतृत्व लिन शुभेच्छुकहरूले दवाव दिइरहेका छन्। निर्वाचनको घोषणापछि माओवादी समर्थक मात्र नभएर भरतपुरको बौद्धिक एवं सामाजिक जनमतसमेत रेनु दोहोरिनुपर्ने पक्षमा देखिन्छ। मेयर रेनुको कार्यकालमा भरतपुरमा उल्लेख्य काम भएका छन्। चुनावी घोषणापत्रमा उल्लेख गरिएका अधिकांश काम सम्पन्न भए पनि केही आयोजनाहरू निर्माणाधीन छ। त्यसमध्ये निर्माण सम्भव भएका, निर्माणाधीन र निर्माणको चरणमा रहेका यी मुख्य योजना सम्पन्न गर्न रेनुकै नेतृत्व आवश्यक रहेको भरतपुरबासीको अभिमत छ।

महानगरका दर्जनौँ आयोजना :भरतपुर महानगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको दर्जनौँ आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका छन्। महानगर प्रमुख रेनु दाहालले सातौँ नगरसभामा महानगरकै लगानीमा सञ्चालन भएका आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका जानकारी गराइन्। उनका अनुसार कोभिड १९ का कारण पनि ती आयोजनाहरुले निर्माणमा तीव्रता पाइरहेका छन्। भरतपुर मेट्रो प्लाजा, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम, खानेपानी विस्तारका कार्यक्रमलगायतका दर्जनौं आयोजनाहरु निर्माणको अन्तिम चरणमा छन् भने कतिपय आयोजनाहरु निर्माण सम्पन्न भइसकेका छन्।

आफ्नो तीन वर्षको कार्यकालको समीक्षात्मक पत्रकार सम्मेलनमा महानगर प्रमुख दाहालले महानगरकै लगानीमा दर्जनौँ आयोजनाहरु सञ्चालनमा रहेको बताइन्। उनले भनिन्, ‘कतिपय आयोजनाहरु अन्तिम चरणमा पुगेका छन्, बाँकी दुई वर्षको अवधिमा सबै आयोजनाहरु पूरा गर्ने लक्ष्यका साथ दौडिरहेका छौँ।’ महानगरद्वारा सञ्चालित आयोजनाहरु – भरतपुर महानगरपालिकाको आफ्नै योजना र लगानीमा दर्जनौं ठूला आयोजना सञ्चालन भइरहेका छन्।

भरतपुर मेट्रो प्लाजा :भरतपुर महानगरपालिका वडा नं. ३ मा महानगरको स्वामित्वमा रहेको करिव ११ कठ्ठा जग्गामा पीपीपी मोडेलमा बहुद्देश्यीय भवन निर्माणको प्रस्ताव मूल्याङ्कनको अन्तिम चरणमा रहेको छ। निर्माण अवधि ३ वर्ष र सञ्चालन अवधि २७ वर्ष गरी जम्मा ३० वर्षको लागि निजी क्षेत्रलाई निर्माण सञ्चालन तथा हस्तान्तरण विधिबाट निर्माण हुने गरी आगामी १ महिनाभित्र सम्झौता गर्ने गरी तयारी कार्य भइरहेको छ। अन्तराष्ट्रिय क्रिकेट रंगशाला :देशकै गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि महानगरको पहलमा प्राप्त भएको जग्गामा निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ। महानगरपालिकाको सक्रियतामा सञ्चालन भएको धनधान्यांचल महायज्ञको माध्यमबाट करिव रु ७० करोड रकम सङ्कलन गरेको तथा आन्तरिक स्रोतबाट यसै आवमा रु ४ करोड अनुदान स्वरूप उपलब्ध गराएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी मैदान तयारी हुँदैछ। यसबाट खेल पर्यटनको विकास हुने अपेक्षा लिइएको छ। धुर्मुस-सुन्तली फाउन्डेसनले हात झिकेपछि रंगशाला निर्माणको कार्यभार पनि महानगरकै काँधमा आएको छ।

खानेपानी आयोजना :नगरबासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माण गरी खानेपानी वितरण प्रणाली व्यवस्थित गर्न महानगरपालिकाको सहलगानीमा शारदानगर खानेपानी आयोजनाका लागि रु ६२ करोड, भरतपुर ११ को जखडीमाई खानेपानी आयोजनाका लागि रु ३७ करोड, दिव्यनगर खानेपानी आयोजनाका लागि रु २६ करोड, पार्वतीपुर खानेपानी आयोजनाको लागि रु १८ करोड, मेघौली खानेपानी आयोजनाको लागि रु १८ करोड, धनगढा खानेपानी आयोजनाका लागि रु २१ र गीतानगर खानेपानी आयोजनाका लागि रु छ करोड, दिव्यनगर खानेपानी आयोजनाको लागि रु तीन करोड ५० लाख, पटिहानी खानेपानी आयोजनाको लागि रु ६ करोड, देवनगर खानेपानी आयोजनाको लागि रू. ३ करोड ५० लाख, शिवनगर खानेपानी आयोजना रु १८ करोड, चौकीडाँडा खानेपानी (लिफ्टिङ्ग) आयोजना गरी २ अर्ब ४१ करोड भन्दाबढीका आयोजनाहरू सञ्चालनमा छन् भने केही आयोजनाहरू सम्पन्न भइसकेका छन्। यी सबै आयोजना सम्पन्न हुँदा भरतपुरको खानेपानी प्रणाली व्यवस्थित हुने अपेक्षा लिइएको महानगर प्रमुख रेनु दाहालले जानकारी गराइन्।

समुदायसँग मेयर कार्यक्रम
मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम साथै आर्थिक विपन्न छात्राहरूलाई साइकल वितरण र क्षमता विकासलगायतका कार्यक्रमका लागि कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा रहेको छ। झन्डै ३०० छात्राहरुलाई साइकल वितरण गरिसकिएको छ। कृषिमा यान्त्रिकीकरण कार्यक्रम :सामूहिक खेतीतर्फ कृषकहरू आकर्षित गरी कृषि उत्पादनमा वृद्धि तथा रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापन हुने विश्वास लिइएको यस कृषि विकासका लागि यान्त्रिकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि तयार भएको छ। यसअन्तर्गत कृषकलाई कृषि उपकरण उपलब्ध गराउने लगायतका कार्यक्रमहरू रहेका छन्।

नदी किनारमा आधुनिक विकास
भरतपुर महानगरपालिकाको वडा नं. १ र ३ को नारायणी नदी किनारालाई सीबीच मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनका लागि गत आवमा महानगरबाट रु १ करोड रकम खर्च भई फुटपाथ बनेको तथा यस आवमा पर्यटन मन्त्रालयबाट करिब ७ करोडको टेन्डर आह्वान भइसकेको छ। यातायात कार्यालय स्थापना :यातायात कार्यालयको स्थापनाका लागि महानगरपालिकाको तर्फबाट सम्पूर्ण तयारी कार्य अगाडी बढेको छ। यस कार्यालयको स्थापनाबाट स्थानीय राजश्वमा वृद्धि, स्थानीय आर्थिक क्रियापकलापहरूमा वृद्धि र स्थानीय बासिन्दाले सहज रूपमा सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

यसका साथै महानगरले केही मुख्य योजना छनोट गरी काम अगाडि बढाउने तयारी गरेको छ। महानगरले आगामी आर्थिक वर्षबाट प्रारम्भ गर्न लागेका केही योजना यस्ता छन्। हुलाकी सडक :हाकिमचोक जगतपुर हुलाकी सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको ६ मिटर सडकलाई ७ मिटर कालोपत्रे बनाउने र बाँकी ९ किमि सडकखण्डलाई सतहढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ।

विमानस्थल सुधार:भरतपुर विमानस्थल तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यकसमेत भएकोले विमानस्थल विस्तार एवं सुधार गर्नका लागि विगत लामो समयसम्मको प्रयासपछि विभिन्न चरणमा छलफल गरि गति लिएको छ। यसको निर्माण कार्य निकट भविष्यमा हुने विश्वास लिएको छ।
चौबिसकोठी मेघौली सडकखण्ड:चौबिसकोठी रामपुर चनौली मेघौली सडकखण्डमध्ये हाल रामपुर चनौलीखण्ड निर्माण सम्पन्न भएको छ। साथै चनौली–मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ।

२०७८ फाल्गुन १, आईतवार प्रकाशित 1 Minute 79 Views

ताजा समाचार