२०७९ जेष्ठ १० मंगलवार

कानेपोखरीमा बलात्कारको अनौठो घटना, ११ बर्से बालकमाथि अनुसन्धान

कानेपोखरी । मोरङको कानेपोखरीमा बलात्कारसँग सम्बन्धित एउटा अनौठो घटना सार्वजनिक भएको छ । कानेपोखरी गाउँपालिका–५ मा ११ बर्से बालकले ६ वर्षीया बालिकामाथि बलात्कार गरेको घटना बाहिर आएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार खेल्ने क्रममा बालकले छिमेकीको घरमा लगेर शनिबार दिउँसो बालिकालाई बलात्कार गरेको जानकारी प्रहरीमा आएको थियो ।

प्रहरीले साँझतिर बालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान अघि बढाएको छ । बलात्कारबाट पीडित भनिएकी बालिकाको यौनाङ्गमा चोटपटक पनि लागेको प्रहरीले जनाएको छ ।

जिसीले बालिकाले अभिभावकलाई सुनाएपछि घटना बाहिर आएको बताए । अभिभावकले प्रहरीलाई जानकारी दिनेवित्तिकै घटनाका बारेमा गम्भीर ढङ्गले अनुसन्धान थालिएको उनको भनाइ छ । उनका अनुसार घटनाका बारेमा थप कुरा बुझ्ने र यकिन गर्ने काम भइरहेको छ ।

जिसीका अनसार बलात्कार पीडित बालिका तथा पीडक बालकलाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । बालिकाको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका बालकलाई बालसुधार गृहमा राखेर घटनाको अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । कानुन अनुसार कुनै पनि अपराधमा बालबालिकाको संलग्नता देखिएमा बालसुधार गृहमा राखेर घटनाको अनुसन्धान गर्नुपर्ने हुन्छ ।

अपराधमा संलग्न १० वर्षमुनिका बालबालिकालाई कानुनी कारबाही गर्न मिल्दैन । १० वर्षभन्दामाथिकालाई भने कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको छ । जिसीले ११ वर्षीय बालक बलात्कारमा संलग्न भएको घटना अनौठो भएको बताए । ‘यो घटनाले आश्चर्य चकित बनाएको छ,’

उनले भने, ‘हाम्रो समाजमा यस्ता घटना निक्कै कम मात्रामा हुने गरेका छन् ।’ बलात्कार पीडित र पीडक भनिएकाहरु कलिलै उमेरका भएकाले घटनाको अनुसन्धानलाई लिएर धेरै विषयमा सावधानी अपनाउनुपर्ने अवस्था रहेको उनले बताए ।

२०७८ फाल्गुन ५, बिहीबार प्रकाशित 0 Minutes 94 Views

ताजा समाचार