२०७९ जेष्ठ १३ शुक्रबार

सुनसरीमा आठ वर्षीया बालिका बलात्कृत , छोरीको बलात्कार भएको थाहा पाएपछि बाबुले गरे आत्महत्या

सुनसरी । सुनसरीको रामधुनी (झुम्का) मा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय युवकले पटकपटक बलात्कार गरेपनि घटना केहीदिनअघि मात्रै सार्वजनिक भएको हो । घटना सार्वजनिक भएकै दिन राति पीडितका बुबाले आत्महत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार छिमेकी रामधुनी नगरपालिका वडा नं। ३ का २४ वर्षीय विश्वमणि आचार्यले छिमेकी बालिकालाई पटकपटक बलात्कार गरेको र घटना सार्वजनिक भएपछि पीडितका २८ वर्षीय बुवाले आत्महत्या गरेका खुलेको छ ।

‘पुष १८ गते बलात्कार भएको र त्यसको दुई महिनापछि घटना सार्वजनिक भएकै दिन उनका बुबाले आत्महत्या गरेको खुलेको छ,’ उनले भने, ‘आत्महत्या गर्ने पुरुष केही समयदेखि डिप्रेसनको रोगी पनि हुनुहुन्थ्यो भन्ने खुलेको छ ।’ पीडितले फागुन १९ गते इलाका प्रहरी कार्यालय पकलीमा जाहेरी दिएसँगै आरोपित आचार्यले आफैँ आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

‘जाहेरी आएसँगै पीडकले सोही दिन आत्मसमर्पण गरेका छन्,’ इलाका प्रहरी कार्यालय पकलीका एक प्रहरीले फोन सम्पर्कमा भने, ‘अहिले प्रहरी थुनामा रहेका उनीमाथि सात दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार आरोपित आचार्यमाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ । पीडित बालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको र रिपोर्टको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।

२०७८ फाल्गुन २५, बुधबार प्रकाशित 0 Minutes 128 Views

ताजा समाचार