
संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेबाट बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान सवा सात बजे छुटेको थियो। झापाको दमक जाने उक्त बसमा १९ जना यात्रु सवार थिए। बस ७:४५ बजे सोही नगरपालिका-६ को सातघुम्ती पुगेको थियो।
छोटोछोटो घुम्ती रहेको पहिलो टर्निङ काट्न नसकेर बस करिब साढे तीन सय मिटर तल भीरैभीर खस्यो। तीव्र गतिमा रहेको उक्त बस तेह्रथुम फाक्चामाराका ३१ वर्षीय विपिन निरौलाले हाँकेका थिए। सहचालक संखुवासभा मादी नगरपालिका-५ का उमेश भट्टराई थिए। बसका धनी निरौला नै हुन्।
बसका कन्डक्टर २४ वर्षीय सुवास तामाङ थिए। उनी संखुवासभा मादी नगरपालिका-४ का हुन्। बसका स्टाफमध्ये तामाङ मात्रै जीवित छन्। उनको अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्। घटनास्थलबाट हेलिकप्टरमा उद्धार गरी चैनपुर ल्याउँदा उनले घटनाबारे केही बोलेका छन्।
संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार तामाङले चालकले यत्ति मात्रै भनेको सुने- भाग्। गाडी यति तीव्र गतिमा थियो कि कोही पनि निस्किनै पाएनन्। तामाङ गाडीले एक बल्ड्याङ मारेपछि गाडीबाट निस्केका थिए।
‘पहिलो बल्डयाङ खाँदा म निस्किन सकें, अरू कोही पनि निस्किन भ्याएनन्,’ तामाङको भनाइ उद्धृत गर्दै सुवेदीले सेतोपाटीसँग भने, ‘गाडीले तीन-चार बल्ड्याङ खायो।’ पहिलो बल्ड्याङ खाँदा गाडीबाट झर्न सकेकाहरू बाँचेको हुनसक्ने अनुमान गरिएको सुवेदीले बताए।