२०७९ जेष्ठ १३ शुक्रबार

‘पीर’ : जनयुद्धको आलोचना कि सचेतना ?

भर्खरै युट्युवमा रिलिज भएको प्रकाश सपुतको नयाँ गीत ‘पीर’ विवादमा आएको छ । कसैले यसलाई १० वर्षे जनयुद्धका लडाकुसहित सिंगो नेपाली समुदायको यथार्थ भन्दै प्रशंसा गरिरहेका छन् भने कसैले परिवर्तनका लागि भएको माओवादी जनयुद्धलाई गलत ढंगले प्रस्तुत गरिएको र नारी अस्तित्व माथि औँला उठाएको भन्दै चर्को आलोचना गरेका छन् ।

गीतको आलोचना वा प्रशंसा गर्नु पूर्व गीतको पृष्ठभूमि हेरौं । गीतलाई माओवादी आन्दोलन अन्त्य भई शान्ति सम्झौतामा आएदेखि हालको अवस्थालाई चित्रण गर्दै कथावस्तु समेटिएको छ । युद्धकालमा जनवादी विवाहमा बाँधिएका जोडीहरू आर्थिक सङ्कटबाट गुज्रिरहँदा पनि श्रीमान् विदेश नगई देशको लागि केही गर्ने अडानमा हुन्छ । उक्त देशभक्तिको भावनालाई प्रतिकार गर्दै आफू पनि देशको लागि लडेको तर देशले आफूलाई नहेरेको भन्दै शरीरमा गोलीका छाप देखाउँदै श्रीमती विदेश गएर धन कमाउने निधो गर्छिन् ।

श्रीमती विदेशिएको ३ महिनासम्म पनि फोन सम्पर्क नहुँदा श्रीमान् हतारिन्छ र एकदिन साथीको लहलहैमा यौनप्यास मेटाउन भनी एउटी यौनकर्मीकहाँ पुग्छ । तर विडम्बना ती यौनकर्मी पूर्व जनमुक्ति सेना हुन्छिन् । त्यसपछि उनकी श्रीमतीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको देखाइएको छ, जसमा उनकी श्रीमतीले आफूलाई तीन महिनादेखि बन्दी बनाएर राखेको र उद्दार गर्न अपिल गरेको प्रसंग छ । आफ्नी श्रीमतीको उद्दारका लागि सम्बन्धित निकायमा जाँदा कसैको सकारात्मक प्रतिक्रिया आउँदैन । बरु आफू युद्ध लड्दाका सुप्रिमो कमरेडलाई गुहार गर्दा आलटाल गरेको देखिन्छ । अन्तिममा श्रीमान् आफै पनि विदेशिएको कथावस्तु गीति भिडियोमा देखाइएको छ ।

१० वर्षे जनयुद्ध नेपालको एक गर्विलो इतिहास हो । जनयुद्धकै बलमा र माओवादी नेतृत्वको मोडालिटिमा नै वर्तमान नेपालको स्थापना भएको हो । जसले गर्दा दलित, महिला, जनजाति, थारू, मुस्लिम जस्ता उत्पीडित वर्गले राज्यको प्रशासनिक क्षेत्रमा स्थान पाए । समान, सम्मान र स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारको सुनिश्चित गरे । समानुपातिक समावेशीता, समानता, धर्म निरपेक्षता, संघीयतासँगै लोकतान्त्रिक गणतन्त्र नेपाल माओवादीकै देन हो, यसमा कुनै दुईमत छैन ।

यति हुँदा पनि तिनै नेता कार्यकर्ताहरूबाट नै दलित शोषण, महिला शोषण जारी नै छ, जसलाई वर्तमानमा भैरहेका घटनाहरूबाट प्रष्ट्याउन सकिन्छ । यसले उन्मुक्ति पाएको छैन । बाहिर हामी परिवर्तनकारी योद्धा भन्दै छाती फुलाउनेहरू भित्र जातपात, धर्म र लिंगकै नाममा नाक खुम्चाउने र षड्यन्त्रकारी भूमिका निभाउने प्रवृत्ति यथावत नै छ ।

प्रकाश सपुतको उक्त गीतको कथावस्तु हेर्दा कुनै गलत नियत देखिदैन । उल्टै यसले राज्यलाई सचेत गराएको देखिन्छ । माओवादी एउटा विचारको क्रान्ति थियो तर जब शान्ति प्रक्रियासँगै सत्तामा आएपछि विचारको विकास हुन सकेन । पुँजीवादी संसदीय व्यवस्थासँग आत्मसमर्पण गरेपछि घाइते अपाङ्ग योद्धाहरूको कुनै मतलव गरिएन । देशका लागि आहुति दिन तयार योद्धाहरूको अवस्था दिनानुदिन नर्कजस्तै बन्दै जानु आफैमा विडम्बना हो ।

परिवर्तनका लागि त्याग तपस्या गरेका र बलिदान दिएका योद्धाहरूको यो अवस्था हुनुमा कहीँ न कहीँ अग्रपंक्तिमा रहेको नेतृत्वको कमी कमजोरी छ भन्ने विषयलाई यो गीतले चित्रण गरेको छ । युद्धमा खटिएका तत्कालीन क्रान्तिकारी जनमुक्ति सेना, वाइसीएल लगायतका जनमोर्चामा बलिदान दिन तयार भएका घाइते अपाङ्गहरूको वर्तमान अवस्थालाई गम्भीर ढंगले प्रस्तुत गरिएको छ, जुन एउटा दृष्टान्तमात्र हो । भित्री रहस्य त यो भन्दा अझै भयानक र पीडादायी छ ।

२०७८ फाल्गुन २९, आईतवार प्रकाशित 0 Minutes 126 Views

ताजा समाचार