२०७९ जेष्ठ १३ शुक्रबार

उपचार गराउन बिदा लिएर गएकी शिक्षिका सधैंका लागि बिदा भइन्

मादी मावि मादी–५ की शिक्षिका युका पोखरेल विद्यालयमा बिदा मागेर बिहिबार बिहानै मादीबाट बस चढेर विराटनगर लागिन्। तर, बस चढेको करिव आधा घण्टापछि उनी चढेको ‘रेसम फिरिरी’ बस सडकबाट करिव तीन सय मिटर तल खसेर दुर्घटनमा पर्‍यो।

घाइते अवस्थामा उद्धार गरिएकी शिक्षक पोखरेलको उपचारका लागि सेनाको हेलिकप्टरबाट धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि उनको उपचारका क्रममा मृत्यु भयो। बिहान ८ बजे घटनाको खबर पाएका मादी माविका शिक्षक विश्वनाथ सुवेदी आधा घण्टामा घटना स्थल पुगे।

उनी घटनास्थल पुग्दा उद्धार कार्य भइरहेको थियो। उनी भन्छन्, ‘म पनि तत्काल उद्धारमा खटिएँ, भीरमा दुर्घटना भएकाले उद्धारमा निकै कठिन भयो। मैले तीन वटा शव निकाल्न मद्धत गरेपछि सबै शव तथा घाइतेको उद्धार गरिसकियो। त्यसपछि थाहा पाएँ आफ्नै विद्यालयकी मिस युका पोखरेल घाइते हुनुभएको रहेछ।’

उनले थपे, ‘हेर्दै गएँ आफ्नै गाउँका यति धेरै जनाको मृत्यु भएको थियो कि मेरो मन नै थामिएन।’ घाइतेहरुलाई हेलिकप्टर मार्फत उपचार गर्न लागेपछि स्वास्थ्यमा सुधार आउने आशा पलाएको सुवेदी बताउँछन्। ‘तर, अस्पताल पुर्‍याउनासाथ मिसको मृत्युको खबर आयो। अघिल्लो दिनमात्र टाउको दुखिरहन्छ बिदा लिएर उपचार गराउन जान्छु भनेकी मिस सधाका लागि बिदा लिएर जानुभयो’, भावुक हुँदै सुवेदीले भने।

उपाचारसँगै विद्यालयको कामको जिम्मेवारी लिएर पोखरेल विराटनगर जाने क्रममा सादाका लागि बिदा भइन्। पोखरेल मादी माविमा माध्यमिक तह अन्तरगत कक्षा ११–१२ मा अंग्रेजी विषय पढाउँथिन्। उनीसँगै मादीका अर्का शिक्षक र विद्यालयका कर्मचारीको निधन भयो। चन्द्र ज्योति आधारभुत विद्यालय मादी–५ का शिक्षक भवानीप्रसाद दाहाल, मादी बहुमुखी क्याम्पसको कागजत लिएर गएका कार्यालय सहयोगी दीपककुमार दाहालको सोही दुर्घटनामा मृत्यु भएको छ। सो घटनामा घटनास्थलमै १४ र उपचारको क्रममा धरानमा एक जनाको मृत्यु भएको हो।

घटनाको खबर पाउनासाथ घटनास्थलमा स्थानीय विशाल बस्नेत पुगे। घाइतेहरु चिच्याइ रहेका सुनेपछि उनी तत्काल उद्धारमा खटिए। बस्नेतले भने, ‘सबैभन्दा पहिले घाइते तुलसा कटुवाललाई गाडीबाट उपचारका लागि चैनपुर पठायौं।’

कुशल सवारी चालक र गाडीको कन्डिसनको अवस्था नबुझी सवारी चलाउँदा दुर्घटना हुने शिक्षक सुवेदी बताउँछन्। सो सवारी चालक विपिन निरौला नियमित सवारी चालक नभएको कारण पनि दुर्घना भएको हुन सक्ने उनको अनुमान छ। निरौलासँग सवारी चालक अनुमति पत्र भए तापनि उनी नियमित सवारी चलाउँदैन थिए। त्यही भएर पनि दुर्घटना भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्।

२०७८ चैत्र २, बुधबार प्रकाशित 0 Minutes 265 Views

ताजा समाचार