२०७९ जेष्ठ १० मंगलवार

नेपालको नाम चलेको बैंकको त यस्तो छ धन्दा, अरुको के कुरा गर्नु ?

काठमाडौँ – नेपालको नाम चलेको बाणिज्य बैंकले समेत नक्कली काम गर्ने गरेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि यस्तो रहस्य खुलेको हो ।

बैंकले विभिन्न ठाउँमा पेश गर्नका लागि विभिन्न निर्माण व्यवसायीलाई नक्कली बैंक ग्यारेन्टी दिएको मुद्धाको फेहरिस्तमा उल्लेख छ । सडक कार्यालय दाङ अन्तर्गतको ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी विटी/टौदह/फस्कु जेभीले पेश गरेको बैंक जमानत नक्कली भएको आयोगले उल्लेख गरेको छ ।

मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ दाङ घोराही र बोलपत्रदाता विटी/टौदह/फस्कु जेभीबीच भएको सम्झौता अनुसारको सोनापुर सिमेन्ट कारखाना सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले उपलब्ध गराएको कागजात नक्कली रहेको पाइएको छ । नक्कली कागजात बनाउने प्रबन्धक चौधरी विरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर अनुसार मागदाबी गरिएको छ ।

सो निर्माण व्यवसायीका तर्फबाट तत्कालीन बिटीका निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका सञ्चालक अर्जुनबहादुर बुढाथोकी र टौदहका प्रतिनिधि पुन्नबहादुर शाही विरुद्ध पनि आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसमेत ४ जना तथा ३ वटा निर्माण कम्पनी उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर । प्रेस विज्ञप्ति:- मिति २०७८।११।२६ गते ।

सडक कार्यालय, दाङ अन्तर्गत ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी वि.टी./टौदह/फस्कु जे.भी. काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक म.प. सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराही र बोलपत्रदाता वि.टी/टौदह/फस्कु जे.भी.बीच सम्झौता भएको ठेक्का नं. ०३-०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका

तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीले वि.टी./टौदह/फस्कु जे.भी.को तर्फबाट म.प.सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानतपत्रहरुमा हस्ताक्षर गरी गलत लिखत तयार गरेको पुष्टि हुन आएको देखिँदा निज तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा ऐ. ऐनको दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

यसैगरी, वि.टी/टौदह/फस्कु जे.भी.का जे.भी. सदस्यहरु बि.टी. निर्माण सेवा र सोका तत्कालीन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका तत्कालीन प्रोप्राइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्सट्रक्सन र जे.भी.का प्रतिनिधि पुन्न बहादुर शाहीले साविक म.प.सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराही र बोलपत्रदाता वि.टी/टौदह/फस्कु जे.भी.बीच सम्झौता भएको ठेक्का नं. ०३-०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माण कार्यमा राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसँग मिलेमतो गरी मतियार भई वि.टी./टौदह/फस्कु जे.भी.को तर्फबाट साविक म.प. सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र तयार गरी गराई पेश्की लिई लाभसमेत लिएबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गर्ने गराउने कार्यमा निजहरुको संलग्नता मतियारको रुपमा भएको पुष्टि हुन आएको देखिँदा बि.टी. निर्माण सेवा र सोका

तत्कालीन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र ठेक्का नं. ०३-०७०/०७१ का लागि जे.भी.का प्रतिनिधि पुन्न बहादुर शाहीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशले निर्देश गरेबमोजिम कसुर गर्ने व्यक्ति सरह ऐ. ऐनको दफा ९ बमोजिम सजाय हुन मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता: श्याम प्रसाद भण्डारी

२०७८ चैत्र २, बुधबार प्रकाशित 1 Minute 134 Views

ताजा समाचार