२०७९ जेष्ठ ९ सोमबार

नक्कली प्रहरी बनेर श्रीमतीलाई यस्तो गर्ने दुईजना प’क्राउ,,

काठमाडौं, चैत ६ – प्रहरी बनेर एक महिलालाई बन्धक बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले श्रीमतीलाई बन्धक बनाउने श्रीमान र उनलाई साथ दिने नक्कली प्रहरी बनेका पुरूषलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-४ घर भई तुम्लिङटार बस्ने ३० वर्षीय अर्जुन तामाङ र पीडित महिलाका श्रीमान ३४ वर्षीय रमेशकुमार तामाङ रहेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनीहरूलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

फागुन २८ गते दिउँसो ११ बजे खाँदबारी नगरपालिका-८ स्थित जंगल नजिकै प्रहरीले प्रयोग गर्ने पोशाक फेला परेको भन्ने सूचना प्रहरीले पाएको थियो। प्रहरीको टोली घटनास्थल पुगेर हेर्दा प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिन्ह भएको एक जोर, प्रहरी हवल्दारको एक जोर, प्रहरी जवानको दुई जोर पोशाक र चार जोर बुट फेला परेको थियो।

सोही दिन खाँदबारी-८ माइती भएकी २६ वर्षीय प्रमिला कम्मर सार्की प्रहरी कार्यालयमा पुगेकी थिइन्। प्रमिलाले आफूलाई गत फागुन २७ गते चार जना प्रहरीले श्रीमानले आत्महत्या गरेको भन्दै आफूलाई लगेको बताएकी छन्। श्रीमानको मृत्यु भएको खबरपछि प्रहरी भनिएका व्यक्तिहरूसँग प्रमिला गइन्। तर ती प्रहरीले प्रमिलालाई रमेशकुमारकै जिम्मामा छाडेर हिँडे।

ती प्रहरी त्यसपछि कहाँ गए उनले थाहा पाइनन्। श्रीमान रमेशकुमारले प्रमिलालाई रातभर बन्धक बनाएर ज्यान मार्ने नियतले शारिरिक तथा मानसिक यातना दिएको आरोप उनले लगाएकी छन्। आफ्ना श्रीमानसहित पाँच जना व्यक्तिले मिलेर आफ्नो हत्या गर्न खोजेको भन्दै उनले ज्यान मार्ने उद्योग अन्तर्गत फागुन २९ गते जाहेरी दिएकी थिइन्।

सो मुद्दामा अनुसन्धान हुँदा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक सुवेदीका अनुसार रमेशकुमार र प्रमिलाको २०७२ सालमा प्रेम विवाह भएको थियो। विवाहपछि उनीहरू दुबै जना ललितपुरस्थित फर्निचर व्यवसाय गरी डेरामा बस्दै आएका थिए। तर पछिल्लो ५-६ महिना भने उनीहरूबीच मनमुटाव बढ्दै गयो।

त्यसैबीच गत माघ अन्तिम साता प्रमिला रमेशकुमारलाई नसोधी माइती गइन्। त्यसरी श्रीमती माइती गएपछि गत फागुन २१ गते उनले सामान्य चिनजान भएका मानिसलाई आफ्ना गुनासा सुनाए। त्यहीँबाट उनले एउटा सुझाव पाए। र त्यसअनुसार योजना बनाए। त्यसका लागि काठमाडौंको बागबजारस्थित एक टेलर्सबाट नक्कली प्रहरीको पोशाक दिनको प्रति जोर ५ सयको दरले भाडामा लिएर आए।

फागुन २६ गते उनीसहित चार जना काठमाडौंबाट खाँदबारी पुगे। भोलिपल्टै योजनाअनुसार चार जना नक्कली प्रहरीले प्रमिलालाई लिन गए। लिएर आएपछि रमेशकुमारको जिम्मामा छाडेर उनीहरू हिँडेका थिए। रमेशकुमारले प्रमिलाको घाँटी र हात तारले बाँधेर नियन्त्रणमा लिएको सुवेदीले बताए। उनले प्रमिलालाई ‘तँलाई पनि मार्छु र म पनि मर्छु’ भन्दै यातना दिएको जाहेरीमा उल्लेख गरेकी छन्।

प्रमिलाले जसोतसो आफ्नो ज्यान जोगाएर भागेर प्रहरी कार्यालयमा पुगेको सुवेदीले बताए। यस घटनामा थप तीन जना फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।

२०७८ चैत्र ६, आईतवार प्रकाशित 1 Minute 90 Views

ताजा समाचार