
गायक हेमन्त रानाको एउटा चर्चित गीत छ, ‘सुन साइली, चालीस कटेसी रमाउँला ।’ देवदह नगरपालिका–३ सूर्यपुरा टोलका ४२ बर्षीय मणिराम पाण्डे तीन बर्ष पछि विदेशबाट आइरहेका थिए, गायक रानाको गीत गुन्गुनाउँदै ।
उनले विदेशबाटै श्रीमती माया देवी पाण्डेलाई फोन गरेका थिए, ‘म घर आउँदैछु , तिमी मलाई काठमाडौं एयरपोर्टसम्म लिन आउनु । त्यसपछि सँगै घर जाउँला ।’ फोनको खबरले हर्षविभोर हुँदै गत फागुन ३० गते माया काठमाडौं हिँडिन् ।
तर दुर्भाग्य त्यो हर्ष खुशी, क्षणभरमै रोदन र चित्कारमा परिणत भयो । पूर्व नवलपरासीको देवचुली नगरपालिका प्रगति नगर र लोकाह खोलको बीच सडकमा गाडी दुर्घटना भयो । बुटवल तर्फबाट आउँदै गरेको ना ६ ख १७ २१ नम्वरको ट्रकसँग पाण्डे दम्पत्ति चढेको लु २ ख ४३१९ नम्वरको नाईटबस बस विहान करिव साढे पाँच बजेतिर एकापसमा ठोक्कियो ।
चैत्त २ गते विहानको सो घटनामा श्रीमान पाण्डेसहित बसका सबै यात्रु सकुशल रहे तर श्रीमती मायाले सदाका लागि ज्यान गुमाइन् । जबकि उनीहरु घर पुग्न करिव २ घण्टा मात्र बाँकी थियो ।
पीडित पाण्डे भन्छन्, ‘डाइभरकै पछाडिको सिटमा हामी बूढाबूढी बसेका थियौं । एक्कासी ट्रक बसमा ठोक्कियो, अगाडि बसेका ड्राईभरलाई केही भएन । मलाई पनि सामान्य धक्का मात्रै लाग्यो । तर सँगै बसेकी मेरी श्रीमतीलाई ताकेरै हाने जस्तो भयो । उनी मेरो काखमा ढलिन् । भरतपुरको सिएमसी अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरे ।’