२०७९ जेष्ठ १३ शुक्रबार

फेसबुकलाई पत्र लेख्दै सीआईबी, यदि प्रमाणित भए अभिनेत्री प्रियंका कार्कीलाई ३ बर्ष जेल सजाय हुने !!

काठमाडौं । अभिनेत्री प्रियंका कार्की प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालयमा पुगेर डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को विज्ञापन दिएकोबारे स्पष्टीकरण दिएकी छन् ।

आफ्नो तस्वीर दुरुपयोग गरी कसैले उक्त भिडियो बनाएको स्पष्टीकरण दिँदै दोषीलाई कारबाही गर्न अभिनेत्री कार्कीले माग गरेकी छन् । अहिले पनि कार्कीले क्रिप्टोकरेन्सीमा लगानी गरेको बारेको विज्ञापन कतै कतै पाउन सकिन्छ ।

तर कार्कीले क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो फोटोको दुरुपयोग भएको दाबी गरेकी छिन् । आफ्नो ५ वर्ष पुरानो फोटो प्रयोग भएकोबारे आफूलाई कुनै जानकारी नभएको र त्यसबारेमा आफूसँग अनुमति नलिएको, क्रिप्टोकरेन्सीबारे आफूलाई कुनै जानकारी नभएको उनले बयान दिएकी छिन् ।

नेपाल राष्ट्र बैंकले नै क्रिप्टोकरेन्सीमा सहभागी नहुन निर्देशन जारी गरिसकेको र क्रिप्टोको कारोबार गरे कारबाही हुने चेतावनी दिइसकेको अवस्थामा प्रियंका कार्कीको फोटो राखेर प्रियंका कार्कीले नै लगानी गरिसकेकी छिन् भनेर विज्ञापन आएपछि कसैले उक्त विज्ञापनको लिंक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीलाई पठाइदियो ।

सीआईबीका अनुसन्धान अधिकृत समक्ष बयान दिँदै कार्कीले भनेकी छिन्, ‘मलाई यसबारे केही थाहा छैन, अनुसन्धानमा सघाउँछु ।’ ‘इन्भिजिबल फ्रेन्ड्स’ नामको फेसबुक पेज प्रवेश गरेपछि इमेल आईडी वा फोन नम्बरमा आउने कोड नम्बरका आधारमा जो कसैले पनि सामग्री पोष्ट गर्न सकिने थाहा भएको छ ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने निर्देशन जारी गरेको छ । गैरकानुनी भनिएको क्रिप्टोको प्रचारात्मक विज्ञापन कसले अपलोड गरेको थियो भन्ने सम्बन्धमा अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंक ऐनको दफा ९५ अनुसार अवैध डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेमा बिगोको ३ गुणा जफत गरेर ३ वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

२०७८ चैत्र १२, शनिबार प्रकाशित 0 Minutes 109 Views

ताजा समाचार