२०७९ जेष्ठ १३ शुक्रबार

एमाले सभामा करिश्माले भनिन्- म सूर्जेकुमारी हो !!

केही दिनअघि मात्र नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारानको नाम सूर्जेकुमारी भएको बताएकी छन् । कपिलवस्तुमा सोमबार एमालेद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री मानन्धरले सूर्यले ‘सोलार सिस्टम’ धानेको र सूर्यले नै नेपाललाई धान्ने बताउँदै आफ्नो नामसमेत सूर्जेकुमारी रहेको बताएकी हुन् ।

‘आज एउटा कुरा रिभिल गरिदिऊँ कि जस्तो लाग्यो। मेरो न्वारानको नामचाहिँ सूर्जेकुमारी हो है‚’ उनले भनिन्‚ ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ। सूर्यले नेपाललाई धान्ने छ।’

भाषणको सुरुवातमै एमाले उपाध्यक्ष विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष शंकर पोखरेललाई वरिष्ठ महासचिव भनेर सम्बोधन गरेकी उनले आफू भर्खरै मात्र एमालेमा प्रवेश गरे पनि यसरी बोल्ने अवसर दिएकोमा धन्यवादसमेत दिएकी थिइन्।

‘म एउटा नयाँ मान्छे। नेकपा एमाले पार्टीको निम्ति भर्खर छिरेको एउटा सदस्यलाई यसरी बोल्नलाई अगाडि सारेकोमा सबै नेतागणलाई धन्यवाद दिन चाहन्छु‚’ उनले भनिन्‚ ‘यहीँबाट थाहा हुन्छ कि यो पार्टीको हृदय कति विशाल छ भनेर। यहाँ नयाँहरूलाई मौका दिइन्छ।’

एमालेलेमहिलाहरूलाई मौका दिने भन्दै अभिनेत्री मानन्धरले हरेक वर्ग‚ तह‚ तप्काका मानिसहरूलाई पार्टीले महत्त्वका साथ हेर्ने बताइन्।

एमालेमा प्रवेश गरेपछिको करिश्माले पहिलो पटक आमसभालाई सम्बोधन गरेकी हुन्। करिश्मालाई चैत ८ गते अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराएका थिए।

२०७८ चैत्र १६, बुधबार प्रकाशित 1 Minute 103 Views

ताजा समाचार