२०७९ जेष्ठ ८ आईतवार

३७ जना नेपालीहरु एकसाथ पक्राउ, यसरी पुगेका थिए त्यहाँ,,,

काठमाडौँ – टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ नेपालीहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ती सबै नेपाली अवैध रुपमा युरोप छिर्ने तयारीमा थिए । टर्किस अनलाइन ईन सन हाबरका अनुसार पक्राउ परेका सबै नेपालीको साथबाट हिँड्न तम्तयार यात्रु झैं सुटेकस थियो र ती सबै मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा थिए ।

इस्तानबुलस्थित नेपालीहरुका अनुसार गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् । पक्राउको यो घटनाबारे टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले पनि खबर पाएका थिए । कान्तिपुरसँगको कुराकानीमा उनले एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु आवतजावत गरिरहेको खबर प्रहरीले पाएपछि त्यहाँ छापा मारेको थियो । उनले पक्राउ परेको घर पनि एक नेपाली बस्दै आएको र सो घरलाई घटनापछि सील गरिएको बताए ।

घिसिङले अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँयासम्म संगठित मानव तस्करका एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको बताए । उनले भने, ‘हामीले सम्पर्कमा आएका नेपालीलाई सकेसम्म अवैध बाटोबाट नजान र त्यो खतरनाक रहेको बताउँदै आएका छौं । तर त्यसैगरी ग्रिस छिरेकाहरुले देखाउने प्रलोभनमा नेपालीहरु धमाधम परिरहेका छन् ।’

टर्किस अनलाइन ईन सन हाबरले टर्कीमा अवैध आप्रवासीहरुको संख्या बढिरहेको र ती सबै युरोप छिर्ने उद्देश्यले त्यहाँ आएको भन्दै यो घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रुपमा अर्थ्याएको छ । नियन्त्रणमा लिइएका नेपालीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रहरी निगरानीमा राखिएको अनलाइनले उल्लेख गरेको छ ।

अवैध रुपमा टर्कीबाट ग्रिस छिर्ने क्रममा हुने दुर्घटनामा नेपालीहरुको मृत्यु हुने श्रृंखला निरन्तर रहे पनि नेपालीहरु संगठित मानव तस्करको भरमा अवैध रुपमा ग्रिस छिर्न जस्तोसुकै जोखिम उठाइरहेको देखिन्छ । २५ कात्तिकमा टर्कीबाट ग्रिस छिर्ने क्रममा भएको गाडी दुर्घटनामा ४ नेपालीको मृत्यु भएको थियो ।

त्यसलगत्तै माघ २० मा पनि अवैध रुपमा गिस छिर्न लागेका आप्रवासीहरुलाई सीमा सुरक्षा अधिकारीहरुले फिर्ता पठाएपछि फर्किने क्रममा अत्यधिक चिसोका कारण १९ आप्रवासीहरुको मृत्यु भएको थियो । जसमा केही नेपालीहरुको पनि मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले इन्टरपोलमार्फत बुझबुझारथ थालिरहेको छ ।

ब्युरोको प्रमुख एसएसपी टेक प्रसाद राईले केही नेपाली टर्कीबाट ग्रिस छिर्ने क्रममा हराएको भन्ने निवेदन आएको र सोही समयमा आप्रवासीको मृत्यु भएको समाचार पनि आएकाले मृत्यु भएकामध्ये कोही नेपाली छन कि भनेर बुझ्न पत्राचार गरेको बताए ।

अध्यक्ष घिसिङले संगठित मानव तस्करका विभिन्न एजेन्टहरुको भर परेर लाखौं खर्चेर जोखिमपूर्ण तरिकाले ग्रिस छिर्ने क्रममा नेपालीहरु जोखिममा पर्दै आएको बताए । उनले भने, ‘हामीले यसरी जान खोज्नेलाई यो गलत तरिका हो भनेका भन्यै छौं तर पनि यस्तो क्रम रोकिएको छैन ।’ कान्तिपुर

२०७८ चैत्र २७, आईतवार प्रकाशित 0 Minutes 305 Views

ताजा समाचार