
नेपाली कांग्रेसका सभापति र उहाँको परिवार सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्ग बोहराका २७ वर्षीय छोरा विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने जयपृथ्वी नगरपालिका ११ की १०१ वर्षीया भुजी देवी देउरुखी, सुर्मा गाउँपालिका २ की १९ वर्षीया अञ्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा गरी ३ जना घाइते भएका छन्।
घाइते देउरुखी र सिन्की बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने, अञ्जुको उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।
प्रहरीका अनुसार जिप गए राति १२ ः४० बजे दुर्घटना भएको हो । जिपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङबाट डिएसपी ज्ञान बहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के कति कारणले घटेको हो भन्ने विवरण नखुलिसकेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।