२०७९ जेष्ठ १३ शुक्रबार

नुवाकोटमा भूकम्पले हल्लाएको ठूलो ढुंगा सेनाले फुटाएर जोगायो बस्ती

नुवाकोट – २०७२ सालको भूकम्पले हल्लाएको विशाल ढुंगो बस्तीमा झर्नबाट नेपाली सेनाले जोगाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ नेगीको बस्तीमाथि रहेको ठूलो ढुंगा नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ मार्फत फुटाएर बस्तलाई सुरक्षित बनाएको हो ।

सेनाले ढुंगा फुटाएर नेगी बस्तीलाई जोगाएको गाउँपालिका निवर्तमान अध्यक्ष योविन्द्रसिं तामाङले जानकारी दिए । ढुंंगा फुटाउन देवीघाटस्थित जबरजंग गणका सैनिक खटिएका थिए । नेगी बस्तीमा ४७ धुरी र एक आधारभूत विद्यालय रहेको छ । उक्त बस्तीभन्दा ५ सय मिटरमाथि ‘पल्सङ’ नाम गरेको विशाल ढुंगा बस्तीमा खस्ने अवस्थामा थियो ।

ढुंगा खसेपछि विद्यालय र स्थानीय बासिन्दालाई क्षति पुऱ्याउने भएपछि गएको वर्ष जिल्ला विपद् व्यवस्थापन समितिलाई स्थानीयवासी र गाउँपालिकाले हटाइदिन अनुरोध गरेका थिए । उक्त ढुंगा ०७२ साल वैशाख १२ र २९ गते आएको महाभूकम्पले डगमगाएको थियो । घरमाथि ढुंगा खसेर झर्ने त्रास हटेको स्थानीय लालबहादुर तामाङले बताए ।

यसअघि वर्षाको समयमा ढुंगो खस्ने डरले गाउँपालिकाले स्थानीयलाई सुरक्षित् स्थानमा राखेको थियो । पल्सङ ढुंगा फुटाउनका संघीय सरकार, प्रदेश सरकार र दुप्चेश्वर गाउँपालिकाले खर्च बेहोरेका थिए । हेलिकोप्टरमार्फत एयर कम्प्रेसरलगायतका विभिन्न उपकरण तथा सामग्री ढुवानी गरेर फुटाएको सेनाले जनाएको छ । पल्सङ ढुंगा फुटाइसकेपछि दुप्चेश्वर गाउँपालिकाले समापन कार्यक्रम राखेको थियो ।

ढुंगा फुटाएपछि बस्ती सुरक्षित छ/छैन अवलोकन गर्न नेपाली सेना मध्य कमान्ड हेडक्वार्टरका कमान्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, श्री नंम्बर ६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रवीन्द्र के.सी, गाउँपालिकाका पदाधिकारी र स्थानीय बासिन्दाबीच छलफल भएको थियो ।

२०७९ बैशाख १८, आईतवार प्रकाशित 0 Minutes 123 Views

ताजा समाचार