२०७९ जेष्ठ १० मंगलवार

सवारी चालकको लाइसेन्स लिन चाहनेहरुलाई खुसीको खबर !

काठमाडौं, शुक्रबार २३ । यातायात व्यवस्था विभागले आगामी जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ। नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी गरिएको उनको भनाइ छ। ‘जेठ १ गतेदेखि नै नयाँ व्यवस्था लागू गर्ने हाम्रो योजना हो। सार्वजनिक बिदा पर्ने भएकाले यो व्यवस्था जेठ ४ गतेबाट लागू गर्ने तयारी छ,’ उनले भने।

महानिर्देशक घिमिरेका अनुसार लाइसेन्सका लागि यसअघि परेका सबै आवेदनको लिखित र ट्रायल दुवै परीक्षा सकिन लागेको अवस्था छ। ‘उपत्यका बाहिर प्रायः सबै कार्यालयले पुराना आवेदनको परीक्षा सकिसकेका छन्। उपत्यकाभित्र पनि एकादुई कार्यालयको बाँकी छ,’ घिमिरेले भने।

गत चैतदेखि विभागले आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै आवेदन प्रणाली बन्द गरेको छ। विभागका अनुसार आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो। सबै आवेदकहरूको ट्रायल यही वैशाखभित्र सकिने विभागले बताएको छ।

कतिपय कार्यालयहरूले बिहान, दिउँसो र साँझ तीन सिफ्टमा परीक्षा सञ्चालन गरेर सकाइसकेको विभागको भनाइ छ। अब जम्मा भएको चाप सकेर विभागले नयाँ प्रणाली लागू गर्छ जुन प्रणालीमा विभागले सीमित आवेदन लिन्छ. यसपछि परेका आवेदनको परीक्षा सकाएर मात्रै नयाँ आवेदन खुला गर्छ। एक लटमा बढीमा १५ दिनसम्म पालो आउने गरी आवेदन लिने विभागको योजना छ।

‘नयाँ प्रणाली लागू भएपछि आवेदन दिएर ट्रायलका लागि दुई तीन वर्ष कुर्नु पर्दैन,’ महानिर्देशक घिमिरेले भने। कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ। विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुईदेखि तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गर्न लागेको हो।

देशभर २३ यातायात कार्यालय छन्। यी कार्यालयमध्ये पनि अध्यधिक चाप काठमाडौं उपत्यकाका कार्यालयमा छ। उपत्यकाका यातायात कार्यालयले दैनिक पाँच सयदेखि एक हजारसम्मको परीक्षा सञ्चालन गर्दै आएको बताएका छन्।

परीक्षा उत्तीर्ण गरेकाले स्मार्ट लाइसेन्स पाउन पनि लामो समय कुर्नुपर्ने बाध्यता छ। यसअघि स्मार्ट कार्ड अभावमा विभागले कारण छपाइ र वितरण पनि लामो समय बन्द गरेको थियो।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 0 Minutes 271 Views

ताजा समाचार