२०७९ जेष्ठ १३ शुक्रबार

मेयर लड्न कै लागि कोरियाबाट छुट्टीमा ! भन्छन् ‘जितें भने त यतै बस्नु परिहाल्यो, हारे फर्कन्छु’

मेयर लड्न कोरियाबाट छुट्टीमा ! भन्छन् ‘जितें भने त यतै बस्नु परिहाल्यो, हारे फर्कन्छु’

ताप्लेजुङ — चार वर्षअघि कामदार भिसामा कोरिया पुगेका फुङलिङ नगरपालिका–११ फावाखोलाका हेम्बु इजम ५७ दिनको छुट्टी लिएर घर आए । मासिक साढे दुई लाख आम्दानी हुने कामबाट छुट्टी लिएर उनी घर आउनुको खास कारण हो– स्थानीय तहको चुनाव ।

उनले फुङलिङ नगर प्रमुख पदमा उम्मेदवारी दिएका छन्– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीबाट । संघको राजनीतिमा खासै चर्चा नपाएको यो पार्टीबाट एक मात्र जनप्रतिनिधि समानुपातिक सांसदका रूपमा प्रदेश १ सरकारमा छन् । प्रदेश सरकारमा भएकाले कांग्रेस, माओवादी र जसपासँग तालमेल गरेर उम्मेदवारी दिने प्रयास पार्टीको थियो । तर कुरा मिलेन । इजम एक्लै चुनावमा भिड्न कस्सिएका छन् । ‘दुई महिनाको (पारिश्रमिक) ५ लाख र आउँदा–जाँदाको प्लेन भाडा १ लाख माया मारेर म उम्मेदवार हुन आएको हुँ,’ उनले भने ।

उनले जेठ १७ सम्म बिदा लिएका छन् । ‘जितें भने त यतै बस्नु परिहाल्यो, हारें भने फर्कन्छु,’ उनले भने । हारजित जे भए पनि पार्टीको मत सुरक्षित गर्नुपर्ने ठानेर आएको बताए । ‘उम्मेदवार बन्न अरू साथीहरू पनि इच्छुक हुनुहुन्थ्यो,’ उनले भने, ‘मैले पनि मन गरें र साथीहरूले पनि तपाईं आउनु भए राम्रै हुन्छ भनेपछि पार्टीको सल्लाहअनुसार आएको हुँ ।’

ठूला दलले प्रमुख पद नदिने र सानो पदमा उठ्दा मत सुरक्षित नहुने उनको पार्टीको बुझाइ छ । इजम किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाका सल्लाहकार पनि हुन् ।

उम्मेदवारी मनोनयनपछि कार्यकर्ता भेटघाट, आमसभामा हिँडिरहेका उनले संगठन मजबुत बन्दै गएको दाबी गरे । जितेमा नगर प्रमुखले पाउने मासिक पारिश्रमिक प्रत्येक महिना प्रत्येक वडाको विकासमा खर्चने उनको घोषणापत्रमा उल्लेख छ । राजनीति सामाजिक सेवासमेत भएकाले कोरियामा कमाएको श्रमले भात खाने तर सरकारले घोषणा गरेको सेवा जनतालाई वितरण गर्ने उनले अठोट गरेका छन् । आफूले उम्मेदवारी दिएको जातीय पार्टी भन्ने बुझाइ जनतामा भएकाले त्यो भ्रम चिर्ने प्रयासमा रहेको उनले बताए ।

मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले पार्टीले हरेक तहमा सम्भावना बोकेकालाई उम्मेदवार बनाएको दाबी गरे । ‘हामी संघीय जनआन्दोलनको तयारी गर्नुपर्छ र आन्दोलनमुखी हुनुपर्छ भन्छौं,’ उनले भने, ‘चुनाव हाम्रा लागि ५० प्रतिशत मात्र हो, ५० प्रतिशत बृहत् आन्दोलन गर्नुपर्छ ।’ उदाउँदो पार्टी भएको र कोभिडका कारण संगठन विस्तार गर्न नपाएकाले परिणामका विषयमा यसै भन्न नसकिने उनी बताउँछन् ।
कान्तिपुर बाट

२०७९ बैशाख २६, सोमबार प्रकाशित 0 Minutes 182 Views

ताजा समाचार