२०७९ जेष्ठ १३ शुक्रबार

परियार हत्या प्रकरण थप शंकास्पद : घटनास्थलमा भेटियो गोलीको खोका

चितवन – चितवनका युवा अनिल परियार (कान) हत्या प्रकरण थप शंकास्पद बनेको छ । आइबार राति धारिलो हतियार प्रयोग गरी हत्या भएको घटनास्थलमा गोलीको खोका फेला परेको छ ।

घटनास्थलमा दुई वटा गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । एउटा गोलीको खोका घटनास्थलमा र अर्को घटनास्थलबाट एक सय मिटर पर फेला परेको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले एटुजेड समाचारलाई जानकारी दिए ।

घटनास्थलमा भेटिएको गोलीको खोका :धारिलो हतियार प्रयोग गरी हत्या भएको भनिए पनि घटनास्थलमा गोलीको खोका भेटिनुले घटनालाई घटनालाई थप शंकास्पद बनाएको छ । अहिलेसम्म घटनामा संलग्न सोही पनि पक्राउ परेका छैनन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए ।

यसैबीच नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण जनाएको छ । चुनावी प्रचार प्रसारमा खटिएका परियारको सुनुयोजित तरिकाले आक्रमण गरी निर्मम तरिकाले भएको हत्याले कांग्रेस चितवनलाई मर्माहित तुल्याएको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस चितवनले घटनाप्रति खेद प्रकट गर्दै यथाशिओघ्र दोषी पत्ता लगाई कडा भन्दा कडा सजायको माग गरेको छ । दोषीलाई यथाशिघ्र कारबाही नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं चितवन प्रशासन हुने कांग्रेस चितवनको चेतावनी छ । कांग्रेस चितवनकै अन्य भातृ संगठनहरुले पनि दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।

भरतपुर महानगरपलिका १२ मिलनचोक निवासी कांग्रेस बागमती प्रदेश प्रतिनिधि परियारको आइतबार साँझ ७ः३० बजे धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर ७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 0 Minutes 217 Views

ताजा समाचार