२०७९ जेष्ठ १३ शुक्रबार

मृतक व्यक्ति र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको नामबाट मतदान गर्न खोजेपछि..

अर्काको नाममा मतदान गर्न खोजेपछि विवाद हुँदा कञ्चनपुरको पुनर्वासमा मतदान स्थगित भएको छ। पुनर्वास नगरपालिका–१० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादपछि मतदान कार्य स्थगित भएको हो।

मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदानस्थल सुरक्षित गर्न सुरक्षा कडा पारिएको प्रमुख निर्वाचन अधिकृत किरण जोशीले बताए। सर्वदलीय बैठक बसिरहेको र केहीबेरमा पुनः मतदान सुरू गरिने उनले बताए।

फर्जी मतदान गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहान ७ बजेबाट सुरू भएको मतदानमा ७ देखि ८ सयको हाराहारीमा मत खसेको बताइएको छ।

शान्तिपूर्ण ढंगले सुरू भएको मतदान मध्यान्ह १२ बजेतिर मृतक व्यक्ति र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको नामबाट मतदान गर्न खोज्दा विवाद उत्पन्न भएको हो।

तीन हजार १५ जना मतदाता रहेको उक्त वडामा वडा अध्यक्षका लागि नेकपा एमालेबाट रामबहादुर थापा, माओवादीबाट सुकदेव राना, राप्रपाबाट रतन बहादुर मल्ल र कांग्रेसबाट धिरेन्द्र भट्ट प्रतिस्पर्धामा छन्।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 0 Minutes 186 Views

ताजा समाचार