२०७९ असार २१ मंगलवार

काठमाण्डौ प्रवेशको मुख्य सडक बन्द, कलङ्की र पोखरातिर गाडी रोकियो, काठमाडौंबाट जाँदै गरेको ट्रकले धादिङमा मानिसको…..

कलङ्की र पोखरातिर गाडी रोकियो
काठमाडौं, जेष्ठ २६ । पहिरोका कारण नौबिसे–मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । घोप्टेभिरमा ठूलो पहिरो खसेकाले गएराति ११ बजेदेखि नै नौबिसे – मुग्लिन सडक खण्ड ठप्प छ।

पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखिए पनि ठूलो वर्षासँगै पहिरो पनि खसिरहेकाले समस्या भएको त्यहाँ रहेका प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार ठूलाठूला ढुङ्गासहित पहिरो खसिरहेको छ ।

पानी पनि ठूलो परिरहेकाले पहिरो हटाउन सकिएको छैन । पानी पर्न रोकिएपछि मात्रै पहिरो हटाउन थाल्ने उहाँले बताउनुभयो । ठूलो पहिरो खसेपछि यो सडक खण्ड हुँदै चल्ने गाडीलाई नाका नाकामै रोकिएको छ ।

काठमाण्डौको कलङ्की, थानकोट र नागढुङ्गामा गाडी रोकिएको छ भने मुग्लिन र नारायणगढमा पनि गाडी रोकिएको छ । यस्तै, पोखराबाट काठमाण्डौ छुट्ने गाडीलाई पनि उतै रोकेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।

यस्तै, गएराति नै चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक पनि बन्द भएको छ । रातिदेखि नै सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।

धादिङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, धादिङको धुनिबेशी नगरपालिका-६ चालिसेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको हो ।

पैदल हिंडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 1 Minute 176 Views

ताजा समाचार