
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८, भंगालमा एक महिला मृतावस्थामा फेलापरेकी छन् । उनको हत्या गरिएको प्रहरीको आशंका छ ।
बूढानीलकण्ठ–३ घर भएकी ४० वर्षीय फूलमाया सुनारको शव फेलापरेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
हिजो मध्याह्न भंगालमा निर्माणाधीन एउटा घरमा फूलमायाको शव फेलापरेको थियो । प्रहरीका अनुसार अनुसन्धानका लागि बागलुङका लक्ष्मीनारायण केसीलाई पक्राउ गरिएको छ । पक्राउ परेका केसी सोही निर्माणाधीन घरको चौकीदार हुन् ।
फूलमायाको शव घरको भुइँतलामा भेटिएको हो । उनले केही समयअघि सोही घर निर्माणसम्बन्धी काम गरेको र बीचमा छाडेर फेरि कामको खोजीमा बुधबार (हिजो) नै त्यहाँ पुगेको बताइको छ ।
घटनाको अनुसन्धान जारी रहेको र पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी प्रमेश विष्टले बताए ।