२०७९ श्रावण २३ सोमबार

पानीको मूल फुटेजस्तै ग्यासको मूल फूट्यो : विज्ञ

काठमाडौंको जोरपाटी चोकको उत्तरतर्फ केही अग्लो जमिन छ । डाँडा जस्तो उच्च भागको सडक हुँदै सुन्दरीजल पुगिन्छ । जोरपाटी चोक उत्तरदेखिको सडक मोडिने क्रममा एउटा सानो गल्ली छ । बाक्लो बस्ती भएको त्यो टोललाई स्थानीय ‘लोसेटार’ भन्छन् ।

लोसेटारमा सन्तकुमार लामाको साढे ३ तले घर छ । लामाले घरमा ‘बोरिङ’ मार्फत पानी तान्नका लागि तयारी गर्दै थिए । दुई दिनसम्म ‘ड्रिल’ गरेपछि ३ सय २० फिटमुनि पानी भेटियो । त्यही तयारीका लागि मंगलबार बिहान १० बजे पाइप जडान भइरहेको थियो । ड्रिल गरिएको ठाउँमा पाइप हाल्ने क्रममा अकस्मात लेदो निस्कियो । विस्तारै बढ्दै गएपछि त्यसले अलिक ठूलो रुप लियो । नभन्दै त्यो लेदो घरको उचाइभन्दा माथि पुग्यो । सय मिटरसम्मको उचाइमा पुगेर यत्रतत्र भयो ।

५ मिनेटभित्र लेदोले जोरपाटी चोकमा प्रभाव देखायो । चोक चोकमा हिँड्ने मानिसहरू भिजेको बालुवाका स-साना कणले निथ्रुक्कै भए । पार्किङ गरिएका मोटरसाइकल हिलाम्मे भए । केही पसलहरू बन्द गरिए, केहीले सामान छोपे । हेर्दा, धुँवाको मुस्लो जस्तो देखिएको थियो तर त्यो बालुवाका कण र साना गिटी थिए ।

सन्तकुमारको घरमा डेरा बस्दै आएका विनोद दासले भने, ‘बोरिङ गरेको ठाउँबाट निस्किएको बालुवा सबै ठाउँमा पुग्यो । मेरो कोठामा र लुगा सबै बिगारो ।’ फुटपाथमा साइकल लिएर कपडा बेच्दै गुजारा चलाउँदै आएका दासले बालुवाको धुलो सबैतिर छरपस्ट भएको बताए ।

मिथेन ग्याससँगै भिजेका बालुवाका कण

प्रहरी आएपछि त्यस क्षेत्रलाई निषेधित गर्दै खानी तथा भूगर्भ विभागलाई खबर भयो । विभागबाट वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठको टोली आयो । टोलीले ‘ धेरै ग्यास साँघुरो ठाउँबाट निस्किँदा’को परिणाम भएको प्रारम्भिक निष्कर्ष निकाल्यो । ग्यास डिटेक्टरले त्यो ठाउँको ग्यास कन्सन्ट्रेसन हेर्दा ‘मिथेन’को मात्रामा धेरै भएको पायो । श्रेष्ठले कान्तिपुरसित भने, ‘यो धेरै ग्यास भरिएको ठाउँबाट एउटा साँघुरो स्थानबाट निस्कँदा धेरै प्रेसर भएको देखिएको हो । यो मिथेन ग्याससँगै, बालुवाका कण, साना गिटी पनि सँगै आएका हुन् ।’

भूगर्भविद् श्रेष्ठका अनुसार बोरिङ गरिएको ठाउँमा भण्डारण भएको ग्यास एकैपटक निस्कन खोज्नु र भिजेको बलुवा र गिटी हुँदा ग्याससँगै उच्च चापमा बाहिर निस्किँदा लेदो जस्तो देखिएको हो ।

उनले पानीको मूल फुटेजस्तै किसिमले ग्यासको मूल फुटेको प्रतिक्रिया दिए । बोरिङ गरिएको ठाउँमा भण्डारण भएको ग्यास रहेपछि उक्त स्थानबाट एकैपटक ग्यास र बालुवा र साना गिटी निस्किएको श्रेष्ठले बताए ।

२०७९ श्रावण ३, मंगलवार प्रकाशित 1 Minute 147 Views

ताजा समाचार