२०७९ चैत्र १५ बुधबार

युरोपको तातो लहर : हालसम्म ४२०० बढीको मृत्यु

प्रचण्ड गर्मी र त्यसले निम्त्याएको हिट वेव(तातो लहर) युरोपको ठूलो भाग अहिले प्रभावित छ । दिन प्रतिदिन बढ्दो तापक्रमले फ्रान्स, स्पेन, पोर्चुगल र ग्रीसको जङ्गलमा डढेलो लागेको छ भने बेलायतका सडक र रेलमार्गहरू पग्लिन थालेका छन् ।

बेलायतको तापक्रम हालसम्मकै उच्च अर्थात ४० डिग्री सेल्सियस नाघेको छ । अत्यधिक गर्मीको कारण चलेको तातो लहरले सयौँको ज्यान लिइसक्यो ।

यसअघि सन् २००३ मा युरोपमा हिट ववले ठूलो ताण्डव मच्चाएको थियो । त्यसबेला तातो लहरका कारण ७२,००० मानिसको मृत्यु भएको थियो । युरोपमा गर्मी मौसम अझै दुई महिना बाँकी रहेकाले १९ वर्षअघिकै जस्तो हताहती हुने हो की डर बढेको छ ।
यस वर्ष पश्चिम युरोपबाट उत्तरतर्फ फैलिरहेको गर्मीको लहरको तीव्रता विश्वका अन्य भागको तुलनामा उच्च रहेको विज्ञहरू बताउँछन् ।

के हो हिट वेव अर्थात तातो लहर ? 
जब कुनै क्षेत्रको तापक्रम सामान्यभन्दा धेरै बढ्छ र त्यो पनि धेरै दिनसम्म रहन्छ, त्यसलाई तातो लहर भनिन्छ । यस्तो समयमा प्रभावित क्षेत्रको आर्द्रता पनि बढेको हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर बढ्दो तापक्रमका कारण भविष्यमा तातो लहरको अतिरिक्त मानिसहरुले पानी, खाना र ऊर्जाको अभाव झेल्नुपर्नेछ । साथै गम्भीर रोग, अकाल मृत्यु र अपाङ्गताको सामना गर्नुपर्ने हुनसक्छ ।

युरोपेली देशमा आएको गर्मीको असर
– बेलायतमा तापक्रम रेकर्ड स्तरमा पुगेको छ । त्यहाँको मौसम पूर्वानुमान महाशाखाले गर्मी उच्च रहने भन्दै सबै क्षेत्रमा रेड अलर्ट जारी गरेको छ । गर्मीका कारण रेल सेवा प्रभावित भएको छ भने विद्यालयहरु बन्द भएका छन् ।
– स्पेनको कार्लोस इन्स्टिच्युटका अनुसार जङ्गलमा लागेको डढेलोमा सो देशमा ८६२ जनाको मृत्यु भएको छ । त्यस्तै १३ हजारभन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलो र हिट वेव गरेर झण्डै १५०० भन्दा बढिको ज्यान गइसकेको छ ।
– फ्रान्समा गत हप्तामा गर्मीका १०० भन्दा बढी रेकर्ड कायम भयो । त्यहाँ नदीको तातो पानीले गर्दा परमाणु ऊर्जा संयन्त्रको उत्पादन घटेको बताइएको छ । त्यस्तै देशभर लागेका डढेलो निभाउन ३ हजारभन्दा बढी दमकलले प्रयास गरिरहेका छन् ।
–पोर्चुगलमा जुलाई १७ मा डढेलो नियन्त्रण गर्ने प्रयास गरिरहेको विमान दुर्घटनाग्रस्त भयो । त्यहाँ गर्मीका कारण झण्डै ११ सय जनाको ज्यान गएको छ ।
– रेकर्ड तापक्रमका कारण जर्मनीमा खडेरीको सम्भावना बढेको छ । त्यहाँ गत दुई महिनामा हिटवेभका कारण १६०० भन्दा बढिको ज्यान गइसकेको छ ।
– बेल्जियम र स्वीडेनमा बढ्दो गर्मीका कारण ‘रेड’ र ‘ओरेन्ज’ चेतावनी दिइएको छ ।
–इटाली पनि डढेलोका कारण उच्च सतर्कतामा रहेको छ ।

युरोपको पछिल्लो हिटवेव र त्यसले निम्त्याएको डढेलोमा सबैभन्दा बढी मृत्यु क्रमशः जर्मनी, स्पेनमा भए पनि अन्य देशमा पनि हताहती रेकर्ड गरिएको छ । १२ जुन २०२२ बाट सुरु भएको हिट वेवबाट युरोपभर ४२ बढिको ज्यान गइसकेको छ ।

युरोपमा तातो हावाको लहर चल्नुअघि यही वर्ष मार्च, अप्रिल र मे महिनामा उत्तर भारत र पाकिस्तानमा कीर्तिमानी तातो लहर आएको थियो । तातो लहरका कारणले दुवै नराम्ररी प्रभावित भएका थिए । उक्त तातो लहरबाट सयौँको ज्यान गएको थियो भने कृषिमा पनि त्यसले ठूलो क्षति पुर्याएको थियो । युनाइटेड किंगडम मौसम विज्ञान कार्यालयको अध्ययन अनुसार जलवायु परिवर्तनका कारण भारत र पाकिस्तानमा गर्मीको लहरको सम्भावना १०० गुणा बढेको छ ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 152 Views

ताजा समाचार