२०८० जेष्ठ १९ शुक्रबार

विश्वका अग्ला १४ हिमाल दुई पटक आरोहण गरी सानुको विश्व कीर्तिमान

काठमाडौँ — नेपाली आरोही सानु शेर्पाले नेपाल, पाकिस्तान र चीनमा पर्ने ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने विश्वको एकमात्र आरोहीको रेकर्ड बनाएका छन् ।

 

पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा पर्ने ८ हजार ३५ मिटर उचाइको गाशरब्रुम–दुई (जी-टू) हिमाल स्थानीय समयअनुसार बिहीबार बिहान ८:१७ मा आरोहण गरेसँगै उनी विश्वका १४ वटा ८ हजार मिटर अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने एकमात्र आरोही बनेका हुन् ।

काठमाडौंमा रहेको पायोनियर एडभेन्चर्स प्रालिमा आरोहण दलको नेताका रुपमा कार्यरत संखुवासभाको मकालुका ४७ वर्षीय शेर्पा एक महिनाअघि एक जापानी आरोहीलाई गाशरब्रुम-दुई हिमाल आरोहण गराउन काठमाडौंबाट पाकिस्तान गएको पायोनियरका कार्यकारी निर्देशक निभेष कार्कीले बताए ।

उनका अनुसार यस सिजनका लागि बाटो बनाउँदै सानु बिहीबार उक्त हिमालको चुचुरोमा पुगेका थिए ।

कार्कीले बिहीबारको आरोहण सकिएसँगै सानु शेर्पा नेपालका ८, पाकिस्तानका ५ र चीनको एउटा गरी १४ वटा हिमाल दोस्रोपटक आरोहण गर्न सफल विश्वकै एकमात्र आरोही भएको कान्तिपुरलाई बताए ।

 

१८ वर्षदेखि हिमाल आरोहणमा आबद्ध शेर्पाले ८ हजारभन्दा अग्ला यी सबै हिमाल ३२ पटक आरोहण गरिसकेका छन् । जसमा सगरमाथामात्रै ६ पटक आरोहण गरेका छन् ।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 144 Views