
भरतपुर, ९ साउन- भरतपुरमा एक पुरुषले श्रीमतीको ह*त्या गरी भाग्ने क्रममा आफ्नो पनि मृ*त्यु भएको छ ।
भरतपुर–१०, रमाइलोचोकस्थित आफ्नै निवासमा ३५ वर्षीया श्रीमती रुस्मालाई धारिलो हतियार प्रयोग गरी ह*त्या गरेर तीन तलाबाट हाम फालेका ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
लामो समय विदेश बसेर हालै फर्किएका कृष्णले घरायसी विवादका कारण श्रीमतीको ह*त्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
शनिबार राति करिब १०ः२५ बजेतिर खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि रुष्मालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर लगिएको थियो । उनलाई अस्पतालले राति १०ः४० बजेतिर मृत घोषणा गरेको थियो ।
खुकुरी प्रहार लगत्तै तेस्रो तलाबाट हाम फालेका कृष्णलाई भने चितवन मेडिकल कलेज लगिएको थियो । बरण्डाबाट सडकतिर हाम फालेका उनको सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते कृष्णलाई पनि अस्पतालले राति करिब ११ बजेतिर मृत घोषणा गरेको थियो ।
रुष्मा राष्ट्रिय मावि तोरीखेतमा शिक्षण गर्थिन् । श्रीमान् भने कतार बस्थे । करिब १ महिनाअघि मात्रै घर आएका उनको श्रीमतीसँग विवाद परेको थियो ।
विवाद चर्किंदै जाँदा उनीहरू सम्बन्ध विच्छेदको प्रक्रियामा समेत रहेको आफन्त बताउँछन् । उनीहरूका १२ वर्षीया छोरी छन् । शनिबार घटना हुँदा घरमा छोरी मात्रै थिइन् । रुष्माको माईत रत्ननगरको पिठुवामा पर्छ।
प्रहरीले श्रीमतीको हत्यापछि भाग्ने क्रममा खसेको हो कि आत्महत्याका लागि हामफालेको भन्ने खुल्न नसकेको बताएको छ । दुबैको शव भरतपुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।