२०७९ श्रावण २३ सोमबार

श्रीमान अर्कै सँग हिड्छन् – अब म के गरु ? कोही छ मेरो लागि !

स्मृति, गोलो अनुहार, ठूल्ठूला चम्किला आँखा।

ती आँखामा कोस निकालेर लगाइएको गाजल। तर, मलाई यही सुन्दरताले ठुङ्छ। फोटो हो, बोल्दैन। मलाई उसले गिज्याएझैं लाग्छ, होच्याएझैं लाग्छ। मुर्मुरिन्छु तर त्यो अवाक् चित्र आँखा झिम्म नगरी मैतिर हेरिरहन्छ। मेरो अस्त्वित्वलाई, मेरो सुन्दरतालाई, मेरो भावनालाई त्यो चित्रले कोपरिरहेको छ।

हुन त त्यो चित्रले मलाई केही गर्दैन, मेरो मायालाई कतै कमी हुन दिएको छैन। बरु, त्यो चित्र पर्समा बोक्नुको कारण मलाई बताएपछि श्रीमानको माया र विश्वास मप्रति झनै बढेको छ। मेरो र उनको मायामा त त्यो तस्बिर कहिल्यै पर्खाल बनेको छैन। कहिलेकाहीँ त्यही चित्रलाई लिएर ठट्टा गर्दा झनै वातावरण प्रेमिल बन्थ्यो।

तर पनि मनभित्र, कताकता ईष्र्याको आगो दबिरहेको थियो। त्यसमा सधैं त्यही सुन्दरीको तस्बिर रहिरहने। यसो हातमा पर्स लियो कि त्यही सुन्दर ठूला आँखा ! ‘यो पर्समा त मेरो पो फोटो हुनुपर्ने ! मलाई मन पराएर मागी बिहे गर्ने ! अनि पर्समा चाहिँ अझै प्रेमिकाकै फोटो !’

त्यो पर्र्स पनि उहाँलाई कत्ति प्यारो ! कहिल्यै छाडेको पनि थाहा छैन। मैले एकदिन खुसुक्क त्यसमा मेरो फोटो राखिदिएँ। त्यो फोटो छोपियो। पर्समा मेरो तस्बिर देखेर म आफैं दंग परेँ। भोलिपल्ट पर्स हेर्छु त, मेरो फोटोसँगै त्यो फोटो पनि मिलाएर राखिएको ! मेरो अनुहार फुंग उड्यो, अलिअलि रिस पनि उठ्यो। मुखबाट अनायास निस्कियो

‘पर्समा सजाउनेले मनमा पनि सधैं सजाउने त होला ? म त मनको एउटा सानो कुनामा त हुँली, राज गर्ने त यही केटी त होली नि ! ‘यो फोटो मेरो अतीत हो, तिमी चाहिँ वर्तमान। अतीत सम्झनामा मात्रै हुन्छ नि। धेरै मान्छे अतीतलाई फालेर हिँड्छन् तर म चाहिँ यो अतीतलाई पनि सँगै बोकेर हिँड्छु,’ भन्नुभयो।

उहाँका यस्तै मीठा जवाफ हुन्छन्, सुनुँसुनुँ लागिरहने। मेरो मनको रिस उहाँको अघिल्तिर त्यसै त्यसै पग्लिहाल्छ, म बाफ बन्न पुग्छु। तर, मेरो मनमा एक कुनामा डर, ईष्र्या, अलिअलि जलन बसिरह्यो। एकान्तमा यो बढेर ठूलो हुन्थ्यो, उहाँलाई देखेपछि कहाँ लुक्थ्यो कहाँ !

एकदिन उहाँले पर्स लिएर जान भुल्नु भएछ। खुसी लाग्यो, त्यो केटी आज भने उहाँसँग ओझेल परी। पर्स खोलेँ, त्यही ठूला आँखा, गाजले आँखा। मुस्कुराउन ठिक्क परेको ओठ ! कस्तो राम्रो ! मैले आफूलाई ऐनामा हेरेँ, म पनि त कम छुइन नि ! त्यो पर्समा त म मात्रै अट्नुपर्ने हो नि ! भित्र मनमा लुकेको रिस र ईष्र्या अचानक मेरो मन माथि कब्जा जमाउन पुग्यो। ती आँखा मेरो मनमा तीर गढेझैं भयो। मुटु चसक्क बिझ्यो। अनायस ती फोटा निकालेँ र कैंचीले दुई टुक्रा पारेँ।

ती पे्रमपत्र मात्र थिएनन्, ती त कविता थिए। ती प्रेमपत्रलाई छिट्टै किताबको रूप दिने योजनामा थिएँ। पत्रसँगै तिमीले मेरो भावना पनि जलायौ। अहो ! मैले यो के नकाम गरेँ। अब श्रीमानलाई के भन्ने ? यो त उहाँप्रतिको अविश्वास हो। मनमा डर पनि लाग्यो। उहाँ घर आइपुग्दा टेबलमा प्रेमिकाको फोटो दुई टुक्रा परेर टेबुलमा विरूप बनिरहेको थियो। ती ठूला आँखा बेग्लाबेग्लै टुक्रामा ! अब भरे के हुने हो मेरो सात्तो गयो।

उहाँले रातोरातो अनुहार बनाउँदै भन्नुभयो, ‘हेर तिमीले मेरो अतीतलाई यसरी काटेर फाल्न सक्छ्यौ र ? यो त फोटो मात्र हो। मन पराएको मान्छेलाई त मुटुमा सजाइन्छ।’ कैंचीले दुई टुक्रा पारेको अटो साइजको त्यो फोटोलाई सेलो टेपले टाँस्नुभयो र पर्समा राख्नुभयो। मसँग बोल्ने कुनै शब्द भएनन्। मेरो मुटु ठूलो ढुंगाले बेस्कन हानेको जस्तो भयो। एकदमै नरमाइलो लाग्यो। घरमा श्रीमती हुँदाहुँदै पनि आफ्नोे प्रेमिकाको फोटो बोकेर कसरी हिँड्न सकेको होला।

मनभरि कुरा खेलिरहे। तर उहाँसँग बोल्नु बेकार थियो। किनभने उहाँ कुरामा मलाई भुलाउन खप्पिस। बिहेपछि पनि पर्समा प्रेमिकाको फोटो राख्दै हिँड्नुपर्ने ! त्यो फोटोले मलाई कति गिज्याउँछ त्यसको चाहिँ पर्वाह नगर्ने ! के त्यो केटीले पनि बिहेपछि यसैगरी प्रेमी (मेरो श्रीमान) को फोटो पर्समा राखिरहेको भए ! उसको श्रीमानले यसै गरी त्यो फोटो देखेको भए ! प्रेमी थियो भन्नेमात्रै थाहा पाएको भए ! के मजस्तै चुपचाप बस्थे होला त ? मैले फोटो टुक्रा पारिदिएँ, त्यसको श्रीमान्ले त…।

म झसंग भएँ।। के यस्तो नराम्रो सोच आएको होला ! मुखले नबोले पनि मेरो मन चाहिँ त्यहीँ फोटोले खाइरह्यो। कहिले अर्काको माया त खोसिन भनेर मन आत्तिन्थ्यो, कहिले मेरो एक मात्र माया उसले खोस्ने पो हो कि ! म मा पो केही खोट छ कि ! मेरो मन उहाँले पढ्नु भएन। खाली आइमाईको जात शंकालु हुन्छन् भने जस्तो गरेर त्यो घटनालाई सामान्य लिनुभयो होला। तर म भने भित्रभित्रै खोक्रो हुन थालेँ। काटिएको फोटो जोडेर पनि बोक्ने मान्छेले मन पनि त त्यसरी काट्न र जोड्न सक्लान् नि !

यसको केही समयपछि मौका छोपेर त्यो टेपले टाँसेको फोटो कैंचीले चार टुक्रा पारिदिएँ। अब फेरि त्यो जोड्न नमिल्ने भयो। मन ढुक्क भयो। अब त त्यो पर्समा म एक्लै हुन्छु नि ! तर, मलाई घोच्ने त अर्को पनि कुरा छ। एक बाकस जति थिए, प्रेमपत्रहरू। त्यो बाकस देख्नेबित्तिकै मलाई झन् धेरै छट्पटी र जलन हुन थाल्यो।

मेरो कुनै प्रेमी भएको भए र उसका पे्रमपत्रहरू यसरी नै सँगालेर राखेको भए उहाँको पुरुष सोच उफ्रँदैनथ्यो होला ? हरेक पल आफ्नो अस्तित्वलाई गिज्याउने त्यस्तो बाकस ससम्मान उहाँको घरमा बस्न पाउँथ्यो होला ? यस्तो चिठी ती केटीसँग पनि पक्कै थिए। उनले पनि चिठीहरू यस्तै जतन गरेर राखेकी छन् होला त ? मेरो घरका सबै सदस्यलाई थाहा थियो, त्यो बाकसमा प्रेमपत्रहरू छन् भनेर। के उसको घरमा पनि सबैलाई थाहा थियो होला त ? के उसले घरका सबै सदस्यलाई यो भन्न सक्लिन् ?

२०७९ श्रावण १५, आईतवार प्रकाशित 0 Minutes 36 Views

ताजा समाचार