
चितवनमा एक दम्पतीको मृत्यु भएको एकसाता पछि काठमाडौंमा अर्को परिवार नै सखाप भयो। साउन ८ गते राति र १५ गते राति फरक ठाउँका यी दुवै घटनामा वैदेशिक रोजगार जोडिएको छ।
भरतपुर महानगरपालिका १० का कृष्णप्रसाद आचार्यले साउन ८ गते राति श्रीमती रुस्मा घिमिरेको विभत्स हत्या गरे। हत्यापछि छतबाट हामफालेका उनको पनि ज्यान गयो।
उनीहरु भोलिपल्ट छोडपत्र गर्ने तयारीमा थिए। डेढ महिना पहिले मात्रै वैदेशिक रोजगारबाट फर्किएका कृष्णप्रसादले श्रीमतीमाथि शंका गरे। श्रीमतीलाई थाहा नै नदिई कृष्णप्रसाद फर्किएपछि घर झगडा सुरु भयो।
उनीहरुको घर झगडा प्रहरी कार्यालयसम्म पुग्यो। प्रहरीले छलफल गराए पनि उनीहरु मिल्न सहमत भएनन्। अन्ततः डिभोर्सको तयारी भएको थियो। डिभोर्सको अघिल्लो रात कृष्णप्रसादले श्रीमतीको ज्यान लिएर आफ्नो प्राण त्यागे।
त्यसको ठिक एक हप्तापछि काठमाडौंको तार्केश्वर नगरपालिका २ काभ्रेस्थलीमा अर्को परिवार सखाप भयो। दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरे। यो घटना पनि श्रीमान श्रीमतीको शंका कै कारण भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।
दिनेश ११ वर्ष वैदेशिक रोजगारीमा कुवेत बसेर फर्किएका हुन्। कुवेत बसेरै गोरखाका दिनेशले काठमाडौंमा घर बनाए। उनले विदेशमा पसिना बगाएर सम्पत्ति त जोडे तर फर्किएपछि पारिवारिक सम्बन्ध राम्रो भएन।
चितवनका कृष्णप्रसाद र रुस्माकै जस्तो उनीहरुको झगडा पनि प्रहरी कार्यालयसम्म पुग्यो। दिनेशविरुद्ध सुनिताले घरेलु हिंसाको जाहेरी दिइन्। बालाजु वृत्तले दिनेशलाई वृत्तमा बोलाएर छलफल गरायो। आफन्तको रोहबरमा छलफल गराएर आइन्दा यस्तो घटना नहुने भन्दै उनीहरुलाई छाडिएको थियो।
प्रहरी कार्यालयबाट फर्किएपछि पनि उनीहरुको सम्बन्ध सुमधुर हुन सकेन। एकअर्काप्रति शंका बढ्दै गयो। विवादका विषय थपिँदै गयो। अन्ततः यो परिवार आइतबार राति सखाप भयो।
श्रीमती र छोराछोरीको हत्या गरेर दिनेशले पनि प्राण त्यागे। कुवेतबाट फर्किएको चार वर्षपछि परिवार नै सखाप भयो।
शंकाको सम्बन्ध
सोमबार मृत फेला परेका दिनेशले लेखेको भनिएको सुसाइड नोटमा उनले कसरी यो घटना घटाउन पुगे भन्ने खुलाइएको छ। सुसाइट नोटको परीक्षण हुन बाँकी छ।
तर त्यसमा सुनिताले दिनेशलाई छेउ पर्नै नदिएको, छि छि र धुरधुर गरेको उल्लेख छ। दिनेशले सुनिताको अर्कैसँग सम्बन्ध रहेको शंका गरेका छन्। आफूलाई छेउ पर्नै नदिने सुनिताले मोबाइल समेत छुन नदिने र अर्कैसँग समय बिताउने गरेको सुसाइड नोटमा उल्लेख छ।
विदेशबाट फर्किएको चार वर्षसम्म पनि सम्बन्ध राम्रो हुन नसकेपछि यो निर्णयमा पुग्न बाध्य भएको एउटा कारण उल्लेख छ।
भरतपुरका कृष्णप्रसाद भने साउदीबाट फर्किएको उनकी श्रीमतीले समेत चाल पाइनन्। श्रीमती अर्कैसँगको सम्बन्धमा रहेको शंका गर्दै फर्किएका उनले श्रीमतीमाथि कुटपिट गरे।
दुवैका परिवारसहित रुस्मा जिल्ला प्रहरी कार्यालयमा पुगिन्। दुवैका परिवारलाई समेत बोलाएर प्रहरीले छलफल गरायो। तर छलफलपछि पनि उनीहरु एकअर्कासँग बस्न तयार भएनन्। छोडपत्र गर्ने निर्णयमा दुवै पुगे। प्रक्रिया पूरा गरेर छोडपत्र गर्ने भन्दाभन्दै कृष्णप्रसादले श्रीमतीको ज्यान लिए र आफू पनि सकिए।
सम्पत्तिको विवाद
सम्बन्धमा शंका भइसकेपछि भरतपुरका दम्पती छोडपत्र गर्न समेत तयार भइसकेका थिए। तर उनीहरुको बिचमा सम्पत्ति बाँडफाँडमा कुरा मिल्न सकेन। सोमबार छोडपत्रका लागि अदालत जानु अघि आइतबार राति उनीहरुको यहि विषयको विवादले ज्यान गयो।
धारिलो हतियार प्रहार गरेर रुस्माको हत्या गरे। उनीहरुकी ११ वर्षीया छोरीले बाबुले आमाको हत्या गरेपछि हारगुहार गरिन्। छोरी कराउन थालेपछि भागेका कृष्णप्रसादले तेस्रो तलाबाट हामफाले। सडकमा टाउको बजारिएका कृष्णप्रसादको त्यहीँ ज्यान गयो।
कृष्णले श्रीमतीलाई १० लाख रुपैयाँ र जय मंगलमा भएको घडेरी दिने कुरा गरेका थिए। रुस्माले बसिरहेको घर नै दाबी गर्दै आएकी थिइन्। घर दिन कृष्ण तयार भएनन्। १० लाख र घडेरी मात्रै लिन रुस्मा मानिनन्। त्यसैको विवादमा कृष्णले श्रीमतीको प्राण लिए।
तार्केश्वरका पाण्डे परिवारको विध्वंसमा पनि सम्पत्तिको विवाद देखिएको छ। काभ्रेस्थलीमा भएको घर जग्गा सुनिताको नाममा थियो।
दिनेशले श्रीमतीको नाममा भएको जग्गा बेच्ने एकलौटी निर्णय लिए। उनले १० लाख रुपैयाँ बैना लिएका पनि थिए। तर सुनिताले पछि बैना फर्काइन् र आफ्नो नाममा रहेको जग्गा बेच्न दिइनन्।
बैना फर्काउन उनले घर राखेर बैंकबाट १८ लाख रुपैयाँ ऋण समेत लिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन्। दिनेशले लेखेको सुसाइड नोटमा पनि यी विषय उल्लेख छन्। जसमा दिनेशले आफूले कुवेतको तातो घाममा कमाएको सम्पत्ति सुनिताले माइतीसँग मिलेर हत्याउन खोजेको उल्लेख छ।
उनले सम्पत्तिकै लागि आफूलाई मुद्दा लगाएर फसाउने षड्यन्त्र समेत गरेको बताएका छन्। आफूलाई फसाएर सम्पत्ति खाने षड्यन्त्रकै कारण आफू हत्या गर्ने निर्णयमा पुगेको सुसाइड नोटमा उल्लेख छ।
भरतपुरमा छोरी मात्रै रहिन्, काभ्रेस्थलीमा सन्तानै सखाप
भरतपुरका कृष्ण र रुस्माकी ११ वर्षीया छोरी थिइन्। जसले बाबुले आमालाई काटेको देखिन् र गुहार मागिन्। तर उनको गुहार कसैले नसुन्दै आमालाई काटेर बाबु भागे। भागेका बाबुको पनि घर अगाडि प्राण गयो।
त्यो रात २० मिनेटको फरकमा आमा बाबु गुमाएकी उनी सहाराविहीन भइन्।
तर काभ्रेस्थलीमा भने दिनेशले श्रीमतीको रिसले नाबालग छोराछोरीको पनि हत्या गरे। १३ वर्षीया आशिका र ८ वर्षीय आशिकलाई पनि चक्कू रोपेर हत्या गरे। उनले सुसाइड नोटमा आफू र श्रीमती नभएपछि छोराछोरीको बिजोग हुन्छ भनेर उनीहरुको पनि हत्या गरेको उल्लेख गरेका छन्।
श्रीमती र दुई सन्तानको हत्या गरेका दिनेशले अर्को कोठामा पुगेर झुण्डिएर पासो लाग्ने प्रयास गरे। आफूलाई चक्कू रोपे र प्राण त्यागे। घरको मूल ढोका नै बन्द भएको र अन्य व्यक्ति पस्न सक्ने अवस्था नभएकाले दिनेशले श्रीमती र सन्तानको हत्या गरेर आफू पनि प्राण त्यागेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।