
पछिल्लो समय बैंकहरुबीच मुद्दती बचत योजनामा प्रतिस्पर्धा चलेको छ । बैंकहरुले आकर्षक योजना ल्याएर निक्षेपकर्तालाई आकर्षित बनाइरहेका छन्। यसअघि आधा दर्जन वाणिज्य र विकास बैंकहरुले मुद्दति योजना ल्याएकोमा अझै थप वाणिज्य बैंकहरुले पनि मुद्दति योजना ल्याएका हुन् । बैंकिङ प्रणालीमा तरलताको अभाव भइरहेको बेला वाणिज्य र विकास बैंकहरुले आकर्षक बचत खाता योजना सार्वजनिक गरेका छन् ।
सर्वसाधारणबाट निक्षेप तान्नकै लागि बैंकहरुले उच्च ब्याज तथा आकर्षक योजनासहित बचत खाता योजना सार्वजनिक गरिरहेका हुन् । बैंकहरुले १० गुणासम्म निक्षेप बढ्ने योजना ल्याएका हुन् । यदि अहिले तपाईंले कुनै बैंकमा १० लाख रुपैयाँ निक्षेप राख्नु भयो धने बैंकहले तोकिएको वर्षपछि १ करोड हुनेछ । त्यसमा कर्जाको पनि सुविधा बैंकहरुले ल्याएका छन् । कुन बैंकको कस्ता योजना ?
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ। बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने योजना सार्वजनिक गरेको हो।सो मुद्दती निक्षेप योजना अन्तर्गत तोकिएको समयावधिभित्र निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकको चाहना बमोजिम त्योभन्दा अझ बढी हुने बैंकले जनाएको छ ।
बैंकको योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागु हुने बैंकले जनाएको छ । तर उक्त मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ । बैंकले समयानुकूल उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्ष रुपमा लावान्भित हुने खालका योजना ल्याउने गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, यस अन्तर्गत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निस्शुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ ।