
नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन्।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। त्यसका लागि पार्टीका सबै विभागहरूले विज्ञहरुसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भईरहेको पनि सचिव भट्टराईले जानकारी दिए।
उनले पार्टीले तयार पार्ने चुनावी घोषणा पत्र मुलुकमा विद्यमान आजको चुनौतीलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने पनि बताए।
सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणा पत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे।
एमालेले पार्टीका सबै विभागलाई यही भाद्र १५ गते भित्र चुनावी घोषणा पत्रका लागि मस्यौदा तयार पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ। सोही अनुसार सबै विभागहरूले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए।