२०७९ आश्विन २१ शुक्रबार

नेपाल प्रिमियर लिगमा ‘जनकपुर रोयल्स’ टिम अनुबन्धित

सेप्टेम्बरको अन्तिम सातादेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुरधामको टिमले पनि सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी सेप्टेम्बर २४ तारिखबाट हुने एनपिएलमा जनकपुरधामको टिमले पनि सहभागिता जनाउन लागेको सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

सो लिगमा ६ वटा टिमले सहभागिता जनाउने भएका छन् । जसमध्ये ४ वटा टिम पक्कापक्की भइसकेका छन् भने बाँकी दुई टिमको निर्क्योल हुन बाँकी रहेको छ ।
जनकपुरधामको जनकपुर रोयल्स, कान्तिपुर टिम, लुम्बिनीको लुम्बिनी अल स्टार्स र विराटनगरको विराटनगर सुपर किंग्सले सहभागिता जनाउने निश्चित भइसकेको छ ।

जनकपुर रोयल्स टिमलाई भारत जयपुरको गोल्ड स्पोर्ट्स प्रालिले खरिद गरेको छ । जानकी माताको सेवा गर्ने सोच पहिल्यैदेखि रहेकोले जनकपुरको टिम आफूले खरिद गरेको गोल्ड स्पोर्ट्स प्रालिका निर्देशक गौरीशंकर धमानीले बताए ।

जनकपुरको यो टिम उनले कति मूल्यमा खरिद गरेको सम्बन्धमा केही खुलाएनन् । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा बाँडिएको छ । ‘ए’ श्रेणीका खेलाडीको बेस प्राइस १५ लाख, ‘बी’ श्रेणीका खेलाडीको १० लाख र ‘सी’ श्रेणीका खेलाडीको ५ लाख रुपैयाँ तोकिएमो छ ।

लिगमा नेपाली खेलाडीका साथै विदेशी खेलाडीले समेत सहभागिता जनाउनेछन् । प्रतियोगितामा सहभागी हुन चाहने ९६ जना खेलाडी लिलामी हुनेछ । लिलामीमा ६६ जना नेपाली खेलाडी र ३० जना विदेशी खेलाडी सहभागी हुने बताइएको छ ।

२०७९ भाद्र ६, सोमबार प्रकाशित 0 Minutes 62 Views

ताजा समाचार