२०८० जेष्ठ १९ शुक्रबार

लोक सेवासँग सम्बन्धित अधिकांश रिट सर्वोच्चद्वारा खारेज, कर्मचारीहरुले बहाल भएकै स्थानमा काम गर्नुपर्ने

सर्वोच्च अदालतले लोकसेवा आयोगसँग सम्बन्धित अधिकांश रिटहरू खारेज गरेको छ । कर्मचारी समायोजन सम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मंगलवार लोकसेवासँग सम्बन्धित ९८ मध्ये अधिकांश रिटहरू खारेज गर्ने फैसला गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंक बहादुर मोक्तानको संवैधानिक इजलासबाट उक्त फैसला भएको हो ।

उक्त फैसलाका कारण अब निवेदन खारेज भएका मुद्दाका निवेदक कर्मचारीहरु बहाल रहेकै स्थानमा काम गर्नुपर्नेछ । त्यस्तै रिट जारी भएका मुद्दाका निवेदक कर्मचारीहरुको समायोजन बदर भएको छ ।

लिखित फैसला मंगलवार नआउने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको कामले पूर्णता पाउने सकेका थिएन।

 

२०७९ भाद्र ८, बुधबार प्रकाशित 1 Minute 140 Views