२०७९ आश्विन १० सोमबार

काठमान्डौँको सार्वजनिक जग्गा अतिक्रम गरी घर बनाएको भन्दै राजेश अहिराजलाई वडाध्यक्षले काटे चिठ्ठी

न्यूज ब्यूरो, काठमान्डौँ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजलाई काठमाडौं महानगरपालिका १० नम्बर वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र जवाफ पठाउन भन्दै चिठी पठाएका छन्। त्यो पनि सार्वजनिक जग्गा मिचेको विषयमा यथार्थ बुझ्न भन्दै चिठी पठाएका हुन्।

कामनपा १० अन्तर्गत देवीनगरस्थित धोबीखोला करिडोरको सिट नम्बर १०२–११४६–०२ को कित्ता नम्बर ४३१, ४३२, ७३८ र ७३९ को सरकारी सार्वजनिक जग्गा अतिक्रमण गरी घर–टहरा, कम्पाउन्डसमेत निर्माण गरेको भनी उजुरी आएको भन्दै सोही विषयमा बुझ्न पत्राचार गरेको वडाध्यक्ष केसीले जनाएका छन्।

यही भदौ ७ को मितिमा पठाइएको उक्त चिठीमा वडाध्यक्ष केसी आफैंले हस्ताक्षर गरेका छन्। स्रोतका अनुसार कामनपा १० देवीनगरस्थित धोबी खोला कोरिडोर बाहिर कित्ता नम्बर ४३२ रहेको जग्गामा अहिराजले घर बनाएका छन्।

४३२ कित्तासँग ७३८ कित्ता नम्बरको जग्गा जोडिएको छ। जग्गा नापी फिल्डबुकमा ७३८ नम्बर कित्तामा साबिक धोबीखोला उल्लेख भएको नापी स्रोतको भनाइ छ। यस विषयमा जिज्ञासा राख्दा १० नम्बर वडा कार्यालयबाट आफूलाई चिठी आएको अहिराजले स्विकारे।

‘काठमाडौं महानगरपालिका १० देवीनगरस्थित सिट नम्बर १०२–११४६–०२ को कित्ता नम्बर ४३१, ४३२, ७३८ र ७३९ को सरकारी÷सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा र कम्पाउन्डसमेत निर्माण गरेको भन्ने उजुरी परी यथार्थ विवरण पेस गर्न पत्राचार भएकाले उल्लिखित कित्ता नम्बरका जग्गा सरकारी/सार्वजनिक हो/होइन, साथै तपाईंले अतिक्रमण गरी घर, टहरा र कम्पाउन्ड निर्माण गर्नुभएको छ/छैन ?’ चिठीमा भनिएको छ, ‘सो सम्बन्धमा बुझ्नुपर्ने भएकाले तपाईंसँग जग्गासम्बन्धी भएका प्रमाणसहित १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन अनुरोध गर्दछु। त्यस उप्रान्त कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेसमेत जानकारी गर्दछु।’

२०७९ भाद्र १०, शुक्रबार प्रकाशित 0 Minutes 34 Views

ताजा समाचार