
भदौ, काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनपछि अध्यक्ष केपी ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान अघि बढाउने निर्णय गरेको छ ।
शुक्रवार र शनिवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।
यता सिट बाँडफाँटमा रूमलिएको गठबन्धनका दलहरूले भावी प्रधानमन्त्रीको साझा उमेदवार बनाएर चुनावमा होमिने संकेत पनि गर्न सकेको छैन । गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरी सिट बाँडफाँटनै टुंगो लाग्न नसकेको अवस्थामा प्रधानमन्त्री को बन्ने भन्ने विषयमा छलफल भइनसकेको बताउँछन् ।
ज्योतिषको भविष्यवाणी अनुसार ७ पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेका शेरबहादुर देउवा मंसिर ४ पश्चात् छैटौंपटक सरकार प्रमुख बन्ने तयारीमा छन् । कांग्रेसले पनि उनैलाई अघि लगाएर चुनाव लड्ने तयारी गरिरहेको एक नेता बताउँछन् ।
पार्टी महामन्त्री गगन कुमार थापा पनि प्रधानमन्त्री बन्नुपर्ने चर्चा पनि कांग्रेस वृत्तमा छ । गगन थापा पनि सरकार सञ्चालनका लागि भन्दै प्रोजेक्ट गभर्मेन्टको काममा तल्लीन छन् ।
त्यस्तै गएको असार ११ गते माओवादी अध्यक्ष प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री बन्ने र देशलाई नयाँ युगतिर लैजान मन भएको सार्वजनिक कार्यक्रममा उल्लेख गरेका थिए । अर्थात् प्रचण्ड पनि प्रधानमन्त्री बन्ने दाउमा छन् । नेकपा सरकार हुँदा पनि अढाई वर्ष प्रधानमन्त्री बन्ने सपना उनको पूरा हुन सकेन ।
नेकपा (एकिकृत समाजवादी) ले भने प्रधानमन्त्रीको दाबी नगर्ने संकेत देखाएको छ ।