
छुर्पी उद्योग स्थापनासँगै बढ्यो दूधको विक्री
तेह्रथुम । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध विक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरीद गर्न थालेपछि उत्साहित भएका छन् । किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन् । गाउँमा छुर्पी उद्योग शुरू हुनुअघि अधिकांश किसानले घ्यू मात्रै उत्पादन गर्ने गर्थे । त्यति मात्रै होइन, उनीहरू टाढा टाढासम्म दूध विक्री गर्न लैजान बाध्य थिए । गाउँभन्दा टाढासम्म दूध बेच्न लैजाँदा समयमा पैसा नपाउने र कम मूल्यमा बेच्न किसान बाध्य थिए ।
यतिबेला किसान गाउँमै स्थापना भएको उद्योगले दूध खरीद गर्न थालेपछि उत्साहित भएका छन् । छथर गाउँपालिकाको हमरजुङ, ओख्रे र सुदापबाट दैनिक तीन सयदेखि पाँच सय लिटरसम्म दूध संकलन हुने गरेको छ । यही दूधबाट दैनिक ५० किलोसम्म छुर्पी र ३० किलोसम्म घ्यू उत्पादन हुने गरेको छ । यसले छुर्पी र घ्यू उत्पादन गर्ने व्यवसायीलाई फाइदा पुगेको छ । दूध विक्रीबाट मनग्य आम्दानी हुन थालेपछि घरखर्च चलाउन सजिलो भएको स्थानीय छत्रबहादुर खड्काले बताए । ‘दूध सबै डेरीमा लैजान्छौं । अहिले त जीविकोपार्जन गर्न सहज भएको छ,’ उनले भने, ‘यसकै आम्दानीले चार जनाको परिवार पाल्न सहज भएको छ ।’
गाउँमा छुर्पी उद्योग सञ्चालनमा आएपछि दुग्ध उत्पादक किसानलाई मात्र होइन, उद्योगीसमेत खुशी भएका छन् । छुर्पीले राम्रो बजार पाएपछि उद्योगीले मनग्गे आम्दानी गर्न थालेका छन् । जनकन्या किसान पशुपालन सहकारी संस्थाका सचिव रामबहादुर भट्टराईले थछरका धेरैजसो किसानले दूध बेच्न ल्याउने भएकाले व्यापार बढेको बताए । रासस