
१७ संस्थालाई सम्पत्ति कर तिर्न काठमाडौं महानगरको ताकेता
काठमाडौं महानगरपालिकाले १७ वटा संस्थालाई १० दिनभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको छ।
महानगरले मंगलबार ती संस्थाहरूलाई पत्र लेखेर १० दिनभित्र सम्पत्ति कर र सोको जरिवाना बुझाउन निर्देशन दिएको हो। पटकपटक ताकेता गर्दा पनि ती संस्थाहरूले कर नबुझाएको महानगरपालिका कार्यालयले जनाएको छ। तोकिएको म्यादभित्र कर नबुझाए महानगरको राजस्व ऐन २०७५ बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिने राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए।
महानगरले खाद्य संस्थान, हाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि र डेन्टल कलेजलाई कर तिर्न पत्र लेखेको हो।