
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिह्न दिन नमिल्ने सर्वोच्च अदालतको फैसला आएपछि पार्टी अध्यक्ष थापाले अदालतको फैसलालाई दुर्भाग्यपूर्ण भनेका छन् ।
‘गाई चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ । चुनाव चिह्न रोज्न पाउने दलको सार्वभौम र कानूनी अधिकार कुण्ठित भयो’, थापाले भने, ‘चलखेल, दबाब र ‘सेटिङ’ले कसरी संवैधानिक अंगहरूलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।’
तर, अदालतको फैसलालाई आफूले शिरोधार्य गर्ने पनि उनले बताए ।
सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले राप्रपा नेपाललाई गाई चुनाव चिह्न दिन नसकिने फैसला गरेको थियो ।
अदालतको फैसलापछि थापाले भने, ‘अदालत र निर्वाचन आयोगलाई मेरो चुनौती छ–कुन कानूनले गाई चिह्न नपाउने लेखेको छ देखाउनुहोस्, जनताले पनि हेरोस् र बुझोस् ।’
अदालतको फैसला मान्नु आफ्नो बाध्यता भएको उनले बताए ।