२०७९ आश्विन २१ शुक्रबार

गठबन्धनको सिट बाँडफाँट आजपनि मिलेन


काठमाडाैं : पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि सिट बाँडफाँटको काम आज पनि टुंगाे लगाउन सकेन।

आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने कार्यदलले दाबी गरेकाे छ। कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको थियो।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम सकेसम्म भोलि बुधबार नै टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।

सिट बाँडफाँटका सम्बन्धमा सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई सो प्रतिवेदन बुझाइने उनले जानकारी दिए।

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको सचिव जोशीले बताए।

कार्यदलको बैठक भोलि साँझ ५ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको जनाइएको छ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेकाे कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन रहेका छन्।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य रहेका छन्।

२०७९ भाद्र २२, बुधबार प्रकाशित 0 Minutes 45 Views

ताजा समाचार