
काठमाडौं महानगरपालिकाले १ साउनमा सूचना निकालेर ३५ दिनपछि सुरु गरेको महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान जारी छ ।
बानेश्वरको वेसमेन्ट खाली गरेर सुरु भएको यो अभियान फुटपाथ र पार्किङ व्यवस्थापनदेखि मापदण्ड विपरीतका बोर्डहरू हटाउनेसम्म पुगेको छ । यसक्रममा महानगरले सहरको मध्य भाग इन्द्रचोक क्षेत्रको अव्यवस्थित पार्किङ र पसलहरू हटाइरहेको छ ।
मंगलबार इन्द्रचोकदेखि असनसम्मका गल्लीका पसलले बिक्रीका लागि जथाभावी राखेका सामान महानगर प्रहरीले हटायो । मानिस हिंड्ने ठाउँमा फिंजाइएका भाँडाकुँडा, खेलौना, फेन्सी आदि पसलका सामान हटाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए
महानगर प्रहरीले असन चोकको दुई ट्रान्सफर्मरबीच रहेको टहरा पनि हटाएको छ । पूजा सामग्रीको पसल राखिएको उक्त टहरा हटाउँदा केही स्थानीयले विरोध गरेका थिए ।